काठमाडौँ : आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।
यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो ।
निजी शौचालयको प्रयोग बढेको भए पनि अझै झण्डै ५ प्रतिशत जनसङ्ख्या शौचालय प्रयोगको पहुँचमा छैनन् । सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास सोलुसनका अध्यक्ष इञ्जिनीयर रामदीप साहले सबैभन्दा धेरै समस्या ढल र नाली व्यवस्थापनमा रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ वर्षमात्र बाँकी रहँदा नेपालको कार्यप्रगति भने सुस्त गतिमा भइरहेको छ । पछिल्लो समय राजमार्गहरुमा सार्वजनिक शौचालयको अवस्था भने सुधार भएको छ ।
प्रतिक्रिया दिनुहोस्