सर्लाही : खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा मृत्यु भएको हो । खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन् ।
गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो । तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई कीर्तिपुर पुर्याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए ।
पुनः चितवनस्थित भरतपुर अस्पताल पुर्याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्