धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका- ८ मा जन्मेका सुरेन्द्र साखी २० वर्षदेखि मुर्ति बनाउने काम गर्दै आएका छन् ।
बाल्यकालदेखि नै कपिमा विभिन्न आकृति कोर्दै तस्वीराङ्कन सिकेका साखी अहिले अब्बल मुर्तिकार बनेका छन् । र विगत दुइ दशकदेखि यही पेशालाई आफ्नो जीवन बनाएका छन् ।
साखी अहिले कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी धाममा मुर्ति बनाउँदै आएका छन् ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका विभिन्न धार्मिक स्थलमा विभिन्न मुर्ति र ऐतिहासिक शालिक बनाइसकेका साखीले हालसम्म ४ सय हाराहारी मुर्ति बनाइसकेको बताएका छन् ।
‘मैले मुर्ति बनाउन थालेको २० वर्ष भयो । मुर्ति बनाउन सुदूरपश्चिम प्रदेशका ९ जिल्लामै पुगेको छु’, उनले भने, ‘अहिलेसम्म ४०० हाराहारी मुर्ति र शालिक बनाइसकेको छु ।’

साखिका अनुसार उनले सुदूरपश्चिमको प्रख्यात एवम् प्रसिद्द धार्मिक स्थल उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिर र गोदावरी लगायतका मन्दिरमा मुर्ति निर्माण गरेका छन् । उनले आफ्नो कला र आफुलाई सुदूरका प्रायजसो सबै ठाउँमा चिन्ने भएकाले पनि विभिन्न शक्तिपिठका पुजारी र महाराजले मुर्ति बनाउन सम्पर्क गर्ने गरेको बताएका छन् ।
साखिका लागि मूर्तिकला एउटा पेशा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । यही पेशाबाट विगत २० वर्षदेखि आफु र आफ्नो सात जना परिवारको जीवन चलेको उनले बताएका छन् । यति मात्र होइन मुर्ति बनाउने पेशाबाट आफु निकै सन्तुष्ट र खुसि भएको पनि साखिले बताएका छन् ।
‘यही पेशाबाट म आफु र आफ्नो परिवार पालेको छु ।’, उनले भने, ‘यो पेशाबाट म आफैँ पनि खुसि र सन्तुष्ट दुवै छु ।’
साखिले मुर्ति बनाएरै मासिक ३५ देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाउँछन । तर कहिलेकाहिँ काम ठप्प हुँदा कमाई नै नभएको पनि उनले अनुभव सुनाएका छन् ।

‘काम पाए कमाई पनि राम्रै हुन्छ । तर काम नपाउँदा वर्षदिन पनि ठप्प बस्नुपर्छ’, उनले भने, ‘कमाइ हुँदा ३५ देखि ५० हजारसम्म कमाई हुने गरेको छ ।’
नेपालमा मुर्ति बनाउने मुर्तिकार निकै कम छन् । त्यसैमाथि भएकाहरुको संरक्षण र सिप प्रवर्दनमा राज्यले चासो नदिँदा मूर्तिकारको मनोबल खस्किएको साखिको भनाइ छ । उनले आफूजस्ता मुर्तिकारलाई कलाको सम्मानस्वरुप राज्यबाट औजार लगाएतका सामान सहयोग पाए ठुलो राहत पुग्ने बताएका छन् ।
‘अहिलेसम्म राज्यस्तरबाट हुनुपर्ने र पाउनुपर्नेजति सहयोग पाएकोजस्तो लाग्दैन’, उनले भने, ‘यदि औजारजस्ता सामान सहयोगस्वरुप पाउने हो भने हामीजस्ता मूर्तिकारको मनोबल पनि बढ्थ्यो, सहयोग पनि हुन्थ्यो ।’
प्रतिक्रिया दनुहोस्