४४ पदका लागि उपनिर्वाचन : दलहरूको रस्साकस्सी

काठमाडौं : आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।

उम्मेदवार चयनमा रस्साकस्सी
राजनीतिक दलहरूले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् । उपनिर्वाचनका लागि मनोनयन नजिकिएसँगै दलहरूमा उम्मेदवार चयनको रस्साकस्सी पनि तीव्र बनेको छ ।

उम्मेदवार चयनमा अन्य दलहरूभन्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले उपनिर्वाचन हुने ४४ स्थानीय तह र वडामध्ये अधिकांश उम्मेदवार चयन गरिसकेको छ । केही दिनअघि बसेको एमाले सचिवालय बैठकले पार्टीका तल्लो निकायबाट सिफारिश नामावली स्वीकृत गरेको थियो । बाँकी रहेका केही स्थानमा पनि एक-दुई दिनमै उम्मेदवार टुंगो लगाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गत स्थानीय तह निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र पहिलोपटक स्थानीय तह चुनावमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई भने उम्मेदवार चयनमा सकस परेको छ । ४४ रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, एमालेबाहेक कांग्रेस र रास्वपालाई उम्मेदवार तय कठिन परेको छ ।

कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिका, कीर्तिपुर नगरपालिकाका १ र ४ नम्बर वडा तथा काठमाडौं महानगर पालिका वडा नम्बर १६ मा उम्मेदवार टुंग्याउन सकेको छैन । मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा निर्वाचन हुन लागेको हो । गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष ३४ गरी ४४ पदमा निर्वाचन हुन लागेको छ । कैलाली र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखको पनि निर्वाचन हुँदै छ । कांग्रेसले केही स्थानीय तहका उम्मेदवार भने चयन गरिसकेको छ ।

रास्वपाको कात्तिक २८ गते बसेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति बैठकले ४४ मध्ये १७ उम्मेदवार टुंगो लगाएको थियो । जसमा महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजाता फडेरा, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित अझै २७ उम्मेदवार चयन गर्न बाँकी छ ।

स्थानीय नेतृत्वको सिफारिशपश्चात् प्रारम्भिक निर्वाचनमा निर्वाचित भएकालाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार अन्य उम्मेदवार पनि टुंग्याउने तयारी भइरहेको छ । नयाँ पार्टी भएकाले सबैतिर संरचना नबन्दा उम्मेदवारी दिन समस्या भएको पराजुलीको भनाइ छ । ओखलढुंगा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने रास्वपाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार