योजना माग्न वडा सदस्य नै काठमाडौँ भ्रमणमा

धनगढी : सङ्घीयताले अधिकार र बजेट स्थानीय तहमै पुर्‍याएको भनिए पनि सङ्घीय मन्त्रालयमा बजेट माग्न वडा सदस्यसमेत काठमाडौँस्थित सङ्घीय सरकारका मन्त्रालयमा जाने गरेका छन् । टीकापुर नगरपालिकाका जनप्रतिनिधिको आर्थिक वर्ष २०८०र८१ को भ्रमण खर्चको विवरण हेर्दा यस्तै देखिएको छ ।

यहाँको वडा नम्बर १ का अध्यक्षबाहेक आठ वटा वडाका वडाध्यक्षले कार्यालयको काम जनाएर काठमाडौँ भ्रमण गरेका छन् । तीन पटक भ्रमण गर्नुभएका वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीको मात्र भ्रमणको उद्देश्य र काम खुलाइएको छ । भ्रमणको उद्देश्यमा विभिन्न मन्त्रालयमा भेटघाट, मन्त्रीलाई बस्तीका समस्याबारे जानकारी दिन, विभिन्न मन्त्रालयमा समन्वय र भेटघाट गर्न, विभिन्न मन्त्रालय र माननीयसँग भेटघाट गर्न भनेर भ्रमण स्वीकृत गरेका छन् ।

वर्षभरिमा नगरपालिकाको बजेटमा २३ जना जनप्रतिनिधिले भ्रमण गर्दा १० लाख ९८ हजार रुपियाँ खर्च भएको छ । देशका विभिन्न भागमा भ्रमण गर्दा एक लाख ९५ हजार रुपियाँ खर्च भएको छ भने काडमाडौँ भ्रमणमा मात्रै नौ लाख तीन हजार खर्च भएको छ । दुई पटक काठमाडौँ भ्रमण गर्नुभएका वडा सदस्य नरेश विकले एक पटक भूमि सुधार मन्त्रालयमा बस्तीका समस्या सुनाउन र अर्को पटक सुकुमवासी समस्याका विषय लिएर भ्रमण गरेको उल्लेख छ ।

वडा सदस्य खम्म ठकुल्ला, कन्हैया चौधरी, बलराम चौधरीले विभिन्न मन्त्रालयमा भेट्न र देवेन्द्र चौधरीले शिक्षा शाखा उद्देश्य राखेर भ्रमण गरेका छन्। छ जना कार्यपालिकाका सदस्यले पनि कार्यालयका तर्फबाट काठमाडौँ भ्रमण गरेका छन्। तीन पटक काठमाडौँ भ्रमण गर्नुभएका दीपकबहादुर निसानीको भ्रमणको उद्देश्य विभिन्न मन्त्रालयमा योजना माग गर्न लेखिएको छ । दुई पटक काठमाडौँ भ्रमण गर्नुभएकी कार्यपालिका सदस्य मञ्जु विकले पनि योजना माग गर्ने उद्देश्य राखेका छन् ।

कार्यपालिका सदस्यहरू रूपमती डगौराले कृषि मन्त्रालयमा समन्वय र भेटघाट गर्ने उद्देश्यले कैलाशपति चौधरी, सरस्वती तिरुवा, राजरानी चौधरीले कार्यालयको कामको उद्देश्यले काठमाडौँ भ्रमण गरेका छन् । भ्रमणमा जानुभएका सदस्यहरूले घुमघाम र भेटघाट भएको तर मागेको योजना नपरेको बताए । कार्यपालिका सदस्य दीपकबहादुर निसानी भन्छन्, “नेताले कोसिस गर्ने हो मागेको पाइन्छ पाइँदैन अर्को कुरा हो ।”

अर्का कार्यपालिका सदस्य राजरानी चौधरी भन्छन्, “राजनीतिक पहुँच भएपछि मागेको योजना पर्छ, हामीहरू त मन्त्रालयमा सचिव, मन्त्रीलाई भेट्न समूहमै गएका हौँ ।” एक जना सदस्य भन्छन्, “ठुला मानिस पटक पटक जान्छन् साना मानिसले एक पटक काठमाडौँ जान पाउनु प¥यो भन्ने हो हामीले मागेको योजना आउने भए त टीकापुर पनि काठमाडौँ भइसक्थ्यो ।”

संविधान सभाका सदस्य हरिलाल ज्ञवाली सङ्घीयतापछि पनि स्रोत केन्द्रमा नै छ भनी राजनीतिक सम्बन्धका आधारमा योजना माग्न जाने चलन छ तर जुन उद्देश्य बोकेर गएको हो त्यो पूरा गर्नु पर्छ तर भ्रमणका लागि भ्रमण जनतासँगको वाचाविपरीत हुने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार