बाजुरा : नेपालीको महत्वपूर्ण चाड तिहार सकिएसँगै बाजुराका अधिकांश गाउँ रित्तिन थालेका छन् । तिहार मनाउन आएका परदेशी धमाधम कामको खोजीमा भारत जान थालेपछि बिस्तारै गाउँ रित्तिन थालेका हुन् ।
“पहिलेदेखि अहिलेसम्म भारतकै भरमा परिवार पाल्ने गरेको छुु । यसो दसैँतिहारका बेला गाउँमा आउँछु । त्यसपछि फेरि कामको खोजीका लागि भारतमै जाने गरेको छु,” बुढीगङ्गा नगरपालिका–१०, बदेडाका राजी सार्कीले बताए ।
उनले भने, “एक वर्षपछि गाउँमा आउने दसैँतिहारले आफूलाई गाउँमा फर्काउने गरेको छु, भोको पेट पाल्न आफू सधैँ भारतमै बस्नुपर्ने बाध्यता छ ।” गाउँमा बसेर केही गरेर खान मन थियो तर के गर्ने आफूसँग न धन छ न त केही गरेर खाने उपाय छ । त्यसैले गाउँमै भोको बस्नुभन्दा भारतमा गएर दुई पैसा कमाई छोराछोरीलाई पाल्नु प¥यो भन्दै तिहार सकिएसँगै कामको खोजीमा भारत जान लागेको सार्कीले बताए ।
गत असोज कात्तिकमा यहाँका गाउँबस्ती निकै भरिभराउ भएका थिए । लामो समयदेखि बन्द भएका यहाँका घरका ढोका पनि खुलेका थिए । अहिले फेरि ती सबै बिदेसिएपछि गाउँबस्ती रित्तिँदै गएका छन् । असोजको पहिलो सातादेखि बाजुरा फर्किनेको सङ्ख्या निकै बढेको थियो भने अहिले गाउँ छोडेर बाहिरिनेको सङ्ख्या पनि त्योभन्दा बढी रहेको छ ।
बाजुराको मार्तडी, तिपाडा, बल्दे, बाम्का, बेतालमाण्डौ, रिठा, मालिका र डाब बजारका काउन्टरमा अहिले भारतमा जानेको निकै भिड हुने गरेको छ । तिहार सकिएसँगै यहाँका स्थानीय सबै भारतमा जान लागेकाले ती काउन्टरमा टिकट लिनेको निकै भिड लाग्ने गरेको हो ।
प्रतिक्रिया दिनुहोस्