भारतीय क्रिकेट खेलाडी धवनले कर्णालीबाट एनपिएल खेल्ने

काठमाडौँ : कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ ।

कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ ।

भारतीय क्रिकेट टिमको लागि एक दशक क्रिकेट खेलिसकेका धवन र कर्णालीबीच भारतमा नै सोमवार सम्झौता भएको सह मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । सम्झौता अनुसार धवनले कम्तिमा ४ खेल खेल्नेछन् । यसपछि यहाँको माहोलसँगै समय भएको खण्डमा थप खेल खेल्न सक्ने बताइएको छ।

खेल बाहेक धवन पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र एभरेष्ट बेस क्याम्प जाने कार्यक्रम हाललाई तय भएको छ । धवनसम्म पुग्न केहि कठिन भएपनि नेपाल सरकार र भारतीय राजदुतावासको सहयोगमा यो संभव भएको र यो सम्झौता कर्णाली याक्सको लागि मात्र नभएर नेपाली क्रिकेटको लागि नै गर्वको बिषय भएको घिमिरेले हाम्रो खेलकुदलाई बताए ।

पहिलो पटक नेपाल आउन लागेका धवनले नेपाली क्रिकेट र नेपालप्रति देखाएको उत्साहले कर्णाली याक्स थप हौसिएको पनि घिमिरेले जिकिर गरे ।

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले शिखर धवन नेपाल आएर क्रिकेट खेल्नुलाई नै सफलताको रूपमा लिएका छन् । उनले धवनबाट आफुले पनि धेरै सिक्न सक्ने र यसले एनपिएलमा र खेलाडीहरूमा थप रौनक थपिने निश्चित रहेको बताए ।

विश्व क्रिकेटका चर्चित नाम शिखरले भारतको जर्सीमा तीन वटै फर्म्याटमा क्रिकेट खेलिसकेका छन् । भारतले एसिया कपको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । उनले आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन् ।

धवनले भारतको लागि ३२ टेष्टमा २ हजार ३ सय १३ रन बनाएका छन् । १ सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ७ सय ५९ रन उनको नाममा रहेको छ ।

कर्णाली याक्सले चौथो विदेशी खेलाडीको रुपमा धवनलाई भित्र्याएको हो । यसअघि वेष्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई भित्र्याइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार