बाजुरा : बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले अनुदानको नुनको कालोबजारी रोक्न वडाको सिफारिस अनिवार्य गरेको जनाएको छ । साल्ट ट्रेडिङका शाखा कार्यालय प्रमुख टेक बहादुर बोहराले अनुदानको नुन वस्तुभाउलाई दिने तथा स्थानीयहरुले अरु जिल्लामा समेत पठाउने गरेको पाइएकोले वडाको सिफारिसको व्यवस्था गरिएको बताए ।
उहाँले वडा कार्यालयको सिफारिसमा परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिएको जानकारी दिए । साल्ट ट्रेडिङ कर्पोरेशनले बडिमालिका नगरपालिकाका ९ वटै वडामा घरधुरी विवरण पठाएको र सोका आधारमा वडा कार्यालयको सिफारिस पछि मात्रै नुन बिक्री वितरण हुने व्यवस्था गरेको छ ।
त्यस्तै बडीमालिका नगरपालिका बाहिरका नागरिकका लागि नुन खरिद गर्न नागरिकता अनिवार्य गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ हजार ५ सय क्विन्टल कोटा रहेकोमा हाल ६ सय क्विन्टल नुन मौज्दात रहेको छ । बाजुरामा हाल ४ वटा विक्रि केन्द्र र ४ वटा अस्थायी डिपो रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्