बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता भएको एक महिना बितिसकेको छ ।
एक महिना बित्दा पनि उनको अवस्था पत्ता नलागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान थालेको छ । गत असोज २५ गते किशोरी बेपत्ता भएकी थिइन् । सोही दिन उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका थिए ।
जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले उनलाई कार्तिक १३ गते कारागार चलान गरेको हो । त्यसपछि सिआइबीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।
प्रहरी हवल्दार जोशी पञ्चेश्वर–२ कै महाकाली प्रहरी चौकीमा कार्यरत थिए । उनलाई महाकाली नदीपारी भारततर्फबाट स्थानीयले नियन्त्रणमा लिएका थिए । किशोरी र उनीबीच कुनै न कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छ भने प्रहरी अनुसन्धानबाट पनि २५ गतेसम्म उनको किशोरीसँग भेट भएको निष्कर्ष निकालिएको छ ।
सिआईबी र जिल्ला प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्