धनगढी : कैलालीका मनोज पडालले च्याउ खेतिबाटै मनग्य आम्दानी गरिरहेका छन् । पडालले धनगढी-३ बोराडाडिमा विगत ९ वर्षदेखि च्याउखेति गर्दै आएका छन् ।
सुरुमा च्याउ खेतिबारे सामान्य ज्ञान लिएर व्यवसाय सुरु गरेका पडालले अहिले भने आधुनिक प्रविधि सहितको च्याउ खेति गरिरहेको बताएका छन् । विदेश जाने भन्दा स्वदेशमै केही गर्छु भन्ने हुटहुटिले च्याउ खेतीतर्फ आकर्षित गराएको पडालले बताएका छन् ।
‘पहिलेदेखि नै मलाई स्वदेशमै केही गर्छु भन्ने थियो । विदेश जाने वा जानुपर्छ भन्ने नै लागेन’, उनले भने, ‘स्वदेशमा गर्ने त धेरै थियो तर जागिर भन्दा व्यापार गर्छु भन्ने लागेर च्याउ खेति रोजेको हुँ ।’
मनोजले अहिले च्याउ खेतिका लागि आफ्नै लगानीमा प्लास्टिक टनेल बनाएका छन् । २०७२ सालमा डेढ लाख रुपैयाँबाट मनोजले सुरु गरेको च्याउ खेतिमा अहिले करोडौं लगानी पुगेको र सोही अनुसारको आम्दानी पनि भइरहेको मनोजले बताएका छन् । यतिसम्म कि कुनैबेला हातका औंलामा गन्न सकिने च्याउ उत्पादन गर्ने मनोजले अहिले ठ्याक्कै यति उत्पादन हुन्छ भनेर भन्ने नसकिने बताएका छन् ।
अर्कोतर्फ मनोजले च्याउ मात्र होइन च्याउको बिउ समेत उत्पादन गरेर बिक्रि गर्दै आएका छन् ।
‘पहिला च्याउ मात्र उत्पादन गरेर बिक्रि गर्थें’, मनोजले भने, ‘अहिले भने च्याउको बिउ पनि उत्पादन गरेर बिक्रि पनि गर्छौं, बिउ बिक्रीबाट आम्दानी पनि राम्रै हुन्छ। ‘
त्यस्तै अहिले बजारमा च्याउको माग उच्च भएकाले आफ्नो उत्पादन बढाउनतर्फ ध्यान केन्द्रित गरेको मनोजले बताएका छन् । च्याउ खेतिमा लागत र मिहेनत दुवै धेरै लाग्ने हुँदा मूल्य पनि सोहि अनुसार निर्धारण गरिएको मनोजको भनाइ छ । ‘च्याउको बजारमा निकै माग छ, त्यसैले उत्पादन बृद्दी गर्नेतर्फ लागेका छौँ’, उनले भने, ‘च्याउ उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य त्यही अनुसार राखेका छौं ।’
इच्छा भए स्वदेशमा पनि अवसर र उपाय छन् भन्ने प्रमाणित गरेका मनोज च्याउ खेतिलाई व्यवसायीकरण गर्नुका साथै २४ जनालाई रोजगारी समेत दिएका छन् । जसमध्ये महिला मात्र ८ जना रहेको मनोजले बताएका छन् ।
काम पनि सजिलो र स्वदेशमै काम पाएपछि मनोजको फार्ममा काम गर्नेहरु पनि निकै खुसि छन् । उनीहरुले यो कामबाट आफु सन्तुष्ट रहनुका साथै काम निकै राम्रो भएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्