कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाएपछी….

धनगढी : कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप लागेको छ। जिल्लाको पुनर्वास, बेलौरी र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा एकपछि अर्को बाख्रा चोरी हुन थालेको किसानको गुनासो छ।

किसान आफैले बाख्रा चोरीमा संलग्न व्यक्तिलाई समातेर प्रहरीको जिम्मा लगाउने गरेको भए पनि त्रिभुवनवस्ती प्रहरी चौकीले घुस खाएर दोषीलाई उन्मुक्ति दिने गरेको आरोप छ। बेलौरीको शिवनगरकी लक्ष्मी चौधरी (डगौरा) र पुनर्वासको त्रिभुवनबस्तीका मिलन दाहाललाई प्रहरीले रकम लिएर उन्मुक्ति दिएको पीडित किसानको आरोप छ।

८ जना किसानले बाख्रा चोरी भएको भन्दै प्रहरीमा निवेदन नै दर्ता गरेका थिए। तर, त्रिभुवनबस्ती प्रहरीले २ जनाको बाख्राको मूल्य मात्र फिर्ता गरेर चोरीमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको छ।  बेलौरीबाट बाख्रा चोरेर भाग्दै गर्दा पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीबाट बाख्रासहित मोटरसाइकलमा सवार दुईजनालाई कात्र्तिक ४ गते स्थानीयले समातेर आईबीआरडीस्थित अस्थायी प्रहरी पोष्टलाई बुझाएका थिए।

बाख्रा चोरी भएका अन्य किसान पनि चौकीमा पुग्न थालेपछि बाख्रासहित उनीहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पठाइएको थियो। चोरीको बाख्रासहित पक्राउ परेका व्यक्तिबाट प्रहरीले घुस खाएर छोडेको किसान मोतिराम रानाको आरोप छ। उनले भने, ‘एक महिला र एक पुरुषलाई प्रहरीमा बुझाइएको थियो।

एक बाख्रा चराउने पनि थिए। हामीले निवेदनसमेत दिएका हौँ। तर, उनीहरुलाई पैसा लिएर छोडिएछ। हामीले रकम पनि पाएनौ। बाख्रा पनि पाएनौ।’  कार्तिक ५ गतेदेखि हालसम्म इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पुग्दा पनि चोरीमा संलग्न व्यक्ति पक्राउ नगरिएको रानाले गुनासो गरे। यस्तै पुनर्वास नगरपालिका–११ अमरबस्तीका कृष्ण सुनारले पनि असोज २ गते खसी चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।

मोटरसाइकलमा आएका २ जनाले उनको खसी चोरी गरेर भागेका थिए। प्रहरीमा निवेदन दर्ता गरेको भएपनि पक्राउ गरेकाहरुलाई प्रहरीले उन्मुक्ति दिएको उनको गुनासो छ। यस्तै शुक्लाफाँटा नगरपालिका–१२ की सुनिता रानाले पनि बेलौरीमा निवेदन दिएको बताइन। तर, चोरीमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको प्रहरीले अहिले आएर शुक्लाफाँटा प्रहरीमा निवेदन दिन भन्दै आएको उनले बताइन।

यता, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक महेशविक्रम शाहीले बाख्रा चोरीमा संलग्न व्यक्तिबाट घुस खाएर उन्मुक्ति दिएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन्। शाहीले आफू लालझाडी गाउँपालिका–१ मा भएको बडायक दम्पती हत्या घटनाको अनुसन्धानमा खटिएकाले यो विषयमा जानकार नभएको प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक नृपबहादुर शाहले छोड्नु भएको रहेछ। के, कसरी छोड्नु भएको हो, जानकारी भएन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार