नेपाली चलचित्र ‘तेल भिसा’को ट्रेलरमा बाउ आमाको पीडा

काठमाडौं : अभिनेता विपिन कार्कीले बाउ र छोरागरी दोहोरो भूमिका निर्वाह गरेको नेपाली चलचित्र ‘तेल भिसा’ आउँदो ७ मंसिरबाट नेपालमा प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

यो चलचित्रको ट्रेलर ३ मिनेट ३८ सेकेण्ड छ । जसमा सुत्केरी हुन लागेकी बुहारी स्याहार्न नेपालबाट अमेरिका पुगेकी सासुले त्यहाँको कानुनलाई पालना गर्न नजान्दा जेल सजायसम्म भोग्नु परेको उल्लेख छ । नाती स्याहार्न अमेरिका पुगेकी पत्नी जेल गएपछि नेपालमा रहेका उनका पतिले भोगेको पीडा पनि ट्रेलरमा प्रस्तुत छ ।

पछिल्लो समय नेपालीहरु बिदेश पलायनसँगै उनीहरुले आफ्ना बुबा आमालाई छोरा छोरी स्याहार्न लानेक्रम बढ्दो छ । यसरी आफ्ना नाती नातिना स्याहार्न बिदेश पुगेका हजुरबा हजुरआमाले भोग्ने गरेको पीडालाई यो चलचित्रमा उठान गरिएको यसकी निर्माता तथा अभिनेत्री ऋचा घिमिरेले बताएकी छिन् । उनी १२ वर्षपछि तेल भिसाबाट चलचित्र अभिनयमा फर्किएकी हुन् । अमेरिकामा बस्दै आएकी उनी यही चलचित्र रिलिजको लागि नेपाल आएकी छिन् ।

यसका अभिनेता विपिन कार्कीले बाउ र छोराको दोहोरो भूमिका निर्वाह गर्दा फरक अनुभव भएको बताएका छन् । त्यसको लागि आफुले शारीरिक तौल पनि तलमाथि गर्नु परेको अनुभव उनले सुनाएका छन् । विपिनले यो चलचित्रमा नेपालमा बस्ने बाबु र अमेरिकामा बस्ने छोराको भूमिका निर्वाह गरेका छन् ।

यसमा विपिन र ऋचासँगै वर्षा राउत, पुजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतको मुख्य भूमिका रहेको छ । ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको तेल भिसामा शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको छ ।

यो चलचित्रको निर्माता अनिल पाण्डे र शिवराज कार्की तथा कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । जसमा सुशन प्रजापतिको छायांकन रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार