धनगढी । चाडबाड सकिएसँगै हिउँदे बाली लगाउने चटारो सुरु भएको छ । वर्षभरीको थकान मेटेर र दशैँ तिहारको उत्सव मनाएर किसानहरु यतिबेला फेरी कृषि कर्ममै फर्किएका छन् ।
खासगरी अहिले किसानलाई काउली, बन्दा, टमाटर, खुर्सानी र सिमी लगाउन भ्याईनभ्याई छ ।
यहीबेला तरकारी खेतिसँगै तरकारीका बेर्ना बेच्ने बेर्ना व्यवसायी पनि दिनभर व्यस्त हुने गरेका छन् । लामो समयदेखि तरकारीका बेर्न बेच्दै आएका व्यवसायी उदय सिंहले पनि हिउँद सुरु भएसँगै हिउँदे बालीका बेर्नाको बिक्रि बढेको बताएका छन् ।
सिंहका अनुसार अहिले तरकारीका बेर्ना प्रति बेर्ना ५ रुपैयाँदेखि १० रुपैयाँमा बिक्रि हुने गरेको छ ।
यता तरकारी खेति गर्दै आएकी तुलसीदेवी टमटाले किसान लक्षित सरकारले नीति नलिँदा कृषिमा अपेक्षित विकास हुन नसकेको गुनासो गरेकी छिन । गाउँमै कृषक समूह गठन गरेर कृषि खेति गर्दा पनि राज्यबाट अनुदान, उन्नत बिउ तथा अन्य सुविधा नपाएको टमटाले बताएकी छिन ।
‘उन्नत जातको बिउ पाए उत्पादन झनै धेरै हुन्थ्यो’, उनले भनिन, ‘तर न उन्नत जातको बिउ कतैबाट पाएका छौँ न राज्यले दिन्छ भनेको अनुदान नै पाएका छौँ । सरकारबाट सहयोग पाउन पाए अझै धेरै गर्न सकिन्थ्यो ।’
टमटाजस्तै अन्य किसानहरुले पनि कृषकका लागि सरकारले गर्नुपर्ने जति काम नगरेको भन्दै दुखेसो पोखेका छन् । राज्यलाई किसान मैत्री थुप्रै कार्यक्रम ल्याए पनि ती कार्यक्रम र योजना पहुँचवालाहरुले मात्रै पाउने र सोझा किसान संधै मर्कामा पर्ने भन्दै यासतार्फा ध्यान दिन पनि सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दनुहोस्