पर्वत : निर्माण पूरा भएको २ वर्ष पुग्न लाग्दा पनि व्यावसायिक रूपमा अन्तरराष्ट्रिय उडान नभएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बिहीवार आठौँ चार्टर जहाज अवतरण भएको छ।
करिब २६ अर्बको लागतमा निर्माण भएर पनि व्यावसायिक उडान हुन नसक्दा सरकारसहित पर्यटनको राजधानी पोखरालाई पनि दुःखी बनाएको विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सको विमान दोस्रो पटक चार्टर भएर आएको हो। पोखरामा हुने तेस्रो क्रस कन्ट्री दौडका लागि खेलाडी र अतिथिहरू बोकेर जहाज करिब पौने ३ बजे अवतरण गरेको हो। चीनको कुनमिङ सहरबाट उडेको विमान सीधै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
एयरबस ३१९ नम्बरको विमान पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएर खेलाडीहरू झारेपछि करिब सवा ४ बजे काठमाडौँका लागि उड्नेछ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा २०८० असार छ गते पहिलो अन्तरराष्ट्रिय व्यावसायिक जहाज अवतरण गरेको थियो। त्यो बेला चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सकै न्यारोबडी ए ३१९ जहाज पोखरा आएको थियो।
उक्त चार्टर जहाजमा राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु पोखरा आएका थिए। पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडान भने १ जनवरी २०२३ बाट शुरु भएको थियो। नियमित र व्यावसायिक अन्तरराष्ट्रिय उडान हुने ठूलो आसाका साथ निर्माण भएको विमानस्थलमा २ वर्षसम्म पनि नियमित व्यावसायिक उडान हुन नसक्दा पोखरा र आसपासको क्षेत्रका पर्यटन व्यवसायीहरू खुसी छैनन्।
विमानस्थलमा नियमित उडान गर्नका लागि पोखराका व्यवसायीहरूले विगतदेखि सरकार र राजनीतिक दलहरूसँग भेटेर प्रयास गर्दै आइरहेका छन्। हिमालयन टुरिजम फोरमको आयोजनामा शुक्रवारदेखि पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना हुँदै छ।
प्रतियोगितामा ५० किलोमिटर दूरीमा समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, ५ किलोमिटर दौड र ह्यप्पी रन समूहमा २ किलोमिटर गरेर प्रतिस्पर्धा हुँदै छ। जसमा नेपाल र चीनका खेलाडीहरू सहभागी हुँदै छन्।
प्रतियोगिताको समूह विजेताले ४ लाख ५८ हजार, उपविजेताले ३ लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान १ लाख ५२ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै विद्यार्थीका रूपमा प्रतिस्पर्धा गर्ने विजेताले ३० हजार रुपैयाँ पाउने छन्।
५० किलोमिटर दूरीको पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट शुरु भएर छोरेपाटन, रामदी, फुस्रे खोला हुँदै स्याङ्जाको फेदी खोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तुपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ।
प्रतियोगितामा शुक्रवारदेखि ३ दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डशिप सिटिज लिग’ हुनेछ। पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी गर्ने पनि तालिका छ।
प्रतिक्रिया दिनुहोस्