जापानिज इन्सेफलाइटिसको प्रकोप बढ्दै, २३ जनाको मृत्यु

काठमाडौं : नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप बढ्दै गएको छ । परिवार कल्याण महाशाखाको अनुसार यसवर्ष जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ ।

देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन् । ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ ।  यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ ।

महाशाखाका अनुसार, संक्रमितमध्ये २८.७५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमा अधिकांश १५ वर्षमुनिका बालबालिका रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । जापानिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा ३ जना संक्रममितको मृत्यु भइसकेको छ ।

कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई–दुई जनाको मृत्यु भएको छ  । रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एक जनाको मृत्यु भएको छ ।

मृत्युदर उच्च

नेपालमा जापानिज इन्सेफ्लाइटिसको मृत्युदर बढेर २८ प्रतिशत पुगेको छ ।  खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा स्वास्थ्य विज्ञहरू चिन्तित व्यक्त गरेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेकोे छ । सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस यस रोगबाट प्रभावित हुने गरेका छन् । विशेषगरी १५ वर्षमुनिका बालबालिकामा जेई बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्ने संगठनले जनाएको छ ।

‘यति थोरै केसमा धेरै मृत्युदर हुनु चिन्ताको विषय बनेको छ,’ डा. गौतमले भने, ‘खोप नलिएका वर्गको बढी मृत्यु भइरहेको छ ।महाशाखाको तथ्यांक अनुसार १५ वर्षभन्दा मुनि ४२ जनामा र १५ वर्षभन्दा माथि ३८ जना संक्रमित भएका छन् ।

डा. गौतमका अनुसार जेष्ठ नागरिकको बढी मृत्यु भइरहेको छ । उनीहरुले जेईको खोप लगाएका छैनन् । ‘खोप नै मुख्य सुरक्षा हो । धेरैजसो मृत्यु खोप नलगाएकै कारणले भएका छन्,’ डा. गौतमले थपे, ‘यसवर्ष १५ वर्ष माथिका १५ जनाको मृत्यु भएको छ ।’

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।

खोप शाखाका प्रमुख डा.गौतमका अनुसार सन् १९९९ मा पाँच जिल्लाबाट सुरु भएको खोप अभियान २००९ सम्ममा २० जिल्लामा विस्तार गरिएको थियो ।गौतमका अनुसार खोप नलगाएका, पहाडबाट तराई झरेका र पहिलेको खोप अभियानमा छुटेका व्यक्तिहरू उच्च जोखिममा रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार