धनगढी । आगामी माघमा एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आयोजना हुने भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता कैलाली प्रिमियर लिगको टाइटल स्पोनसरको रूपमा एसपीए कलेजले सहकार्य गर्ने भएको छ ।
यो प्रतियोगिताको तेस्रो संस्करणका लागि मंगलबार एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश बि. शाही र जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम विष्ट बिच औपचारिक सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौताअनुसार एसपीए कलेजले लगातार तीन वर्षका लागि केपीएलको मुख्य प्रायोजन गर्नेछ । कैलाली जिल्लामा क्रिकेट खेलको प्रवर्द्धन र खेलाडीहरूको स्तर वृद्धिमा एसपीए केपीएलले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
अध्यक्ष विष्टका अनुसार यस पटकको टी–२० एसपीए केपीएलले क्रिकेट प्रेमी र खेलाडीहरूलाई नयाँ उत्साह प्रदान गर्नेछ । ‘केपीएलको आयोजनाले जिल्लामा क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ र एसपीए कलेजसँगको सहकार्यले यसलाई अझ सशक्त बनाउनेछ’, विष्टले भने ।
कैलाली प्रिमियर लिगको दोस्रो संस्करणमा टीकापुर नगरपालिकालाई ५ विकेटले हराउँदै गोदावरी च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्