काठमाडौं : महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए। उनले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए।
मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए। उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताए। उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए। उनले ०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताए।
उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए। उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए। सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताए।
मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए। उनले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए। डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताए।
उनले भने, ‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ। ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ? दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन। यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडि चेन्ज हुन्छ। सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ।
देश जोगाउन शुरुमा यस्तो ठाउँ जोगाउनुपर्यो नि। सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ। औषधि उत्पादन हुनुपर्यो। औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त। बेच्ने चिज पनि कसरी घाटामा जान्छ। सरकारले गरिदिनुपर्यो। सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुपर्यो। महानगरपालिकाले सञ्चालन गर्छ।’ मेयर साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्