बैतडी : जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदी रहेका छन् । २५ जना कैदीको क्षमता रहेको कारागारमा हाल ७८ जना रहेका छन् । कारागारमा अहिले ५८ जना कैदी बन्दी र २० जना थुनुवा गरेर ७८ जना रहेको कारागारकी प्रमुख धारा भण्डारीले बताइन् ।
२५ जनाको क्षमता भएको बन्दी गृहमा ७८ जनाको व्यवस्थापन गर्नुपर्दा समस्या भएको उनले बताइन । उनले भनिन् ‘कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसाई व्यवस्थापनमा निकै समस्या भएको छ ।’
व्यवस्थापनमा समस्या हुँदा अहिले महिला बन्दीहरूलाई डडेल्धुरा पठाउने गरिएको छ । खाट माथि खाट राखेर बन्दीहरूको बसाइ व्यवस्थापन गरिएको भण्डारीले बताइन् । त्यसैमा पुरानो जीर्ण भवनमा बन्दीहरूलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।
जस्तापाताले छाएको जीर्ण भवनमा बर्सातको समयमा चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या रही आएको छ । २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन । त्यसमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्दा झन् समस्या भएको छ ।
चालु आर्थिक वर्षमा कारागार भवन निर्माणका लागि अढाई करोड बजेट विनियोजन भएको कुरा सुनिएपछि बन्दी गृह बनाउने कि प्रशासनिक भवन बनाउने भन्ने विषयमा केही जानकारी नआएको कारागार प्रमुख भण्डारीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्