काठमाडौँमा मादल किन्नेहरूको भीड, लोकबाजा मादलको संरक्षण गर्न माग

काठमाडौँ : तिहारसँगै देउसीभैलो शुरु हुन्छ। देउसीमा नाचगान र मादल आवश्यक हुन्छ। यो वर्षको तिहार शुरु हुन केही दिन मात्रै बाँकी छ।

त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरूको भीड छ। अन्य समयमा खोजी नहुने मादल तिहारको समयमा भने किन्ने र बेच्नेहरूको घुइँचो लाग्छ। विभिन्न जिल्लाबाट मादल किन्न काठमाडौँ आइपुग्छन्। आफूलाई मन पर्ने मादल छानेर किन्ने र घर लगी तिहारमा रमाउने हेतुले टाढाबाट काठमाडौँमा मादल किन्न ग्राहक आउने गरेका छन्।

ओखलढुंगाको केतुकेबाट मादल किन्न आएका सुमन तामाङ गाउँघरमा देउसी, भैलो खेल्नेलाई मादल अनिवार्य हुने र मादलबिना रमाइलो नहुने बताउँछन्। त्यसैले पनि समूहका लागि मादल किन्न आएको बताए।

उनले भने, ‘गाउँघरमा देउसी, भैलो खेल्नेलाई मादल चाहिन्छ। यसले रमाइलो पनि हुन्छ। म यहाँ आउन थालेको तीन वर्ष भयो। रीतिरिवाज, संस्कृति जगेर्ना पनि भयो।’

काठमाडौँको विष्णु म्युजिक सप सञ्चालन गर्दै आएका व्यवसायी रिपबहादुर कुलले गत वर्षको तुलनामा यो वर्ष मादलको व्यापार राम्रो रहेको बताए। उनले २५ वर्षयता काठमाडौँको वसन्तपुर क्षेत्रमा मादल व्यापार गर्दै आएको बताउँदै उनले १३ सयदेखि १२ हजारसम्मका मादल आफूले पसलमा राख्ने राखेको बताए।

यस वर्ष १५ सयको हाराहारीमा मादल बेच्ने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे। मादलका लागि काठ सहजै पाउने भए पनि छाला भने ल्याउन गाह्रो रहेको बताए।

उनले भने, ‘तिहार आउँदै छ, मध्यम व्यापार भइरहेको छ। पहिलाको तुलनामा मादल राम्रै विक्री भएको छ। व्यापार अलि बढेकै हो। मैले २५ वर्ष जति भयो व्यापार गरेको। काठ मकवानपुरतिरबाट ल्याउँछौँ। तिहारमा १५ सयवटा जति मादल बेचिन्छ होला। मादलका लागि छाला ल्याउन गाह्रो छ। नेपाली लोकबाजाको संरक्षणमा सरकारले केही गरेको छैन। हामीले अन्ताराष्ट्रियस्तरमा पनि पुर्‍याउन जरुरी छ।’

उनले नेपाली लोकबाजालाई सरकारले संरक्षण गर्न जरुरी रहेको बताए। एउटा मादल तयार गर्न करिब १० दिन लाग्ने मादल व्यवसायीहरू बताउँछन्। काठ खोपेर ढुङ्ग्रो बनाउनुपर्ने भएकाले मेहनत र समय बढी लाग्छ। विगतकै मूल्यमा मादल बेचिरहेको र बजार मूल्य चित्तबुझ्दो नरहेको व्यवसायीहरूको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार