धनगढी : शुक्रबार बिहान एकाएक मोबाइलको घन्टी बज्यो ।
फोन उठाएँ, फोनमा सिटिजन्स बैंकको अत्तरिया शाखामा कार्यरत सरस्वति भट्ट रहेछिन । उनले भनिन्,
‘गेटा मेडिकल कलेज अगडि एकजना व्यक्ति बेबारिसे अवस्थामा छन्, उद्दार गरिदिनुपर्यो ।’
भट्टको फोन आउनेबित्तिकै गेटा मेडिकल कलेज अगाडि पुगेँ । हेर्दा अन्दाजी २५ वर्ष उमेरको देखिने, झुत्रा लुगा लगाएको, घाँटीमा कपडाको माला लगाएको, जिङ्ग्रिङ्ग्ग कपाल, शरीरमा जताततै चोटपटक र घाउका दाग भएको एक व्यक्ति बेबारिसे अवस्थामा सडक छेउमा पल्टिरहेको देखें ।
पक्कै, मानसिक सन्तुलन गुमाएको, घरबारविहीन हुनुपर्छ लाग्यो र बोलाउने कोसिस गरेँ । उसको स्वभाव सामान्य थियो ।
अब के गर्ने ? सुरुमै दिमागमा पहिलो नाम आयो ‘मानवसेवा आश्रम’ ।
धनगढीमा मात्र होइन, सारा देशभर कहिँ कतै, कोहि बेसाहारा देखे सबैले सम्झिने मानवसेवा आश्रमलाई नै हो । किनकि सबैलाई लाग्छ, ‘मानवसेवा आश्रम त्यस्तो संस्था हो, जो बेसाहाराको साहरा बनेको छ । अरु कसैले नगरे पनि बेसाहाराको उद्दार मानवसेवा आश्रमले त जरुर गर्छ ।’
त्यसपछि मैले मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई सम्पर्क गरें ।
तर उनले ठाडै ती व्यक्तिको उद्दार गर्न अस्वीकार गरे । ‘प्रहरी र वडाको कागज नहुँदासम्म हामी ती व्यक्तिको उद्दार गर्दैनौँ’, उनले भने ।
उनको त्यस्तो जवाफपछि आश्चर्य भएको मैले फेरी ‘कागज त ल्याउँला, पहिला यहाँ त आउनुस, उद्दार गरौँ अनि कागज बनाउँला हुँदैन ?’ भन्ने जिज्ञासा राखेँ । उनले जवाफमा भने, ‘हुँदैन, कागज नहुँदासम्म उद्दार गर्न सक्दैनौँ, पछि हामीलाई नै झन्झट हुन्छ । बरु ती व्यक्ति एकदुई दिन सडकमै भए केही हुँदैन तर हामी कानुनि झमेलामा पर्दैनौँ ।’
‘अहिले हाम्रो राष्ट्रिय उद्दार कार्यक्रम चल्दैछ, टोलि १५ गते धनगढी आइपुग्छ होला, त्यही बेला उद्दार गरौंला ।’, उनले थपे ।
‘ठिकै छ, १५ गते टोलि आउला तर १५ गतेसम्म के गर्ने ? मानवसेवा आश्रम यस्तै व्यक्तिको उद्दार गर्न खोलिएको होइन ? अनि उद्दार गर्नुपर्यो भन्दा गर्दैनौँ भन्न मिल्छ ?’ मेरो प्रश्नमा उनले जवाफ फर्काए, ‘तपाइँले भन्ने बित्तिकै हामीले कसैको उद्दार गर्दिनुपर्ने हो ?’
अनि सडकमा बेबारिसे अवस्थामा भेटिएका व्यक्तिको उद्दार गर्न मानवसेवा आश्रमलाई कसले भन्नुपर्ने ? कसले सिफारिस गर्नुपर्ने हो ? अहिले पनि मेरो मस्तिष्कमा यो प्रश्न टड्कारो बनिरहेको छ ।
मानवसेवा आश्रमले उद्दार गर्न ठाडै अस्वीकार गरेपछि ती व्यक्तिलाई के गर्ने ? त्यसै छोड्न सकिन र फेरी दुखि र बेसाहाराको साहरा बन्दै आएकी दृष्टी फाउण्डेसनकि संचालक कल्पना भट्टलाई फोन गरेँ । ‘दिदि गेटामा एकजना व्यक्ति साह्रै नाजुक अवस्थामा बेबारिसे भेटिए, के गर्ने ? आइदिनुपर्यो ।’, मैले अनुरोध गरेँ । मेरो अनुरोध सकिन नपाउंदै उताबाट जवाफ फर्कियो, ‘हुन्छ, एक्कैछिन है, मा आइहालेँ ।’
त्यसको केही मिनेटमै भट्ट गेटा पुगिन । ती व्यक्तिको अवस्था देख्दा उनी एकछिन भक्कानिइन पनि ।
भट्ट र हामीले ती व्यक्तिलाई नालीबाट सडकसम्म उकाल्यौँ । भट्ट सोध्दै गइन्, ‘ तपाइको नाम के हो ? घर कहाँ हो ? घरमा को को छन् ? घरबाट निस्केको कति भयो ?’
ती व्यक्ति सरासर जवाफ फर्काउँदै गए, ‘उत्तम, घर बाजुराको जुकोट, घरमा बाआमा र भाइ छन्, घरबाट निस्केको १ वर्ष भयो ।’
ती व्यक्तिको जवाफ सुन्दा लाग्दै थियो, ‘यो व्यक्ति मानसिक सन्तुलन गुमाएकै हो ? सब थाहा भएको व्यक्ति यस्तो अवस्थामा कसरि पुग्यो ? अनि चेत अवस्थामा भएको यस्तो व्यक्तिलाई शरिरभरि कसरि चोट लाग्यो ?’ प्रश्नहरु मस्तिष्कमै अनुत्तरित थिए ।
हामीले ती व्यक्तिको उद्दारमा विलम्ब नगर्ने निर्णय गर्यौँ । दृष्टि फाउन्डेसनमा महिलाहरु मात्रै भएकाले सुरक्षा दृष्टिकोणले पनि ती व्यक्तिलाई त्यहाँ लैजान मिलेन । पछि भट्ट आफैँले बर्दगोरियाको साहरा घरमा सम्पर्क गरिन् । उताबाट ती व्यक्तिको उद्दारमा सहयोग गर्ने र ती व्यक्ति राख्ने स्वीकृती पाएसंगै हामीले थप प्रक्रिया अगाडि बढायौं ।
मेरो कार्यक्षेत्र धनगढी भएकाले सहज हुने आशसहित सुरुमा गाडी पठाइदिन धनगढी उपमहानगरपालिकालाई अनुरोध गरेँ । तर नगरक्षेत्र भन्दा बाहिर भएकोले धनगढीले गाडी पठाउन नसक्ने बतायो । त्यसपछि हामीले गोदावरी नगरपालिकासँग सहयोग माग्यौँ । नगरप्रमुख विरेन्द्र भट्टको पहलमा केहीबेरमा मालाखेती अस्पतालको एम्बुलेन्स आयो । हामीले प्रहरीलाई पनि खबर गर्यौं । र अन्तत: प्रहरी, दृष्टि फाउन्डेसनकि संचालक भट्ट, म सहित कल २४ न्युजको टिम र स्थानीयको सहयोगमा ती व्यक्तिको उद्दार गरेर बर्दगोरियाको साहरा घर पठायौँ ।
उद्दारमा सहयोग गर्ने सबैलाइ धन्यवाद ।
तर यी व्यक्तिको उद्दार गर्दैगर्दा बेसाहाराको साहरा बन्ने र उद्दार गर्ने भन्दै खोलिएको मानवसेवा आश्रमको कर्तुत उद्दाङ्गो भएको छ ।
होला, मानवसेवा आश्रमले थुप्रै बेसाहाराको उद्दार गरेको होला, थुप्रैलाई अहिले पनि साहरा दिएको होला तर उद्दार गर्नुपर्ने बेलामा तत्काल उद्दारको खाँचो भएको व्यक्तिलाई आश्रमका संयोजकले ‘सडक मै होस्’ भन्ने अभिव्यक्ति दिनु निन्दनीय छ ।
प्रतिक्रिया दिनुहोस्