किशोरी बेपत्ता पछि महाकाली प्रहरीचौकी सारियो !

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरीचौकी नै सारिएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरीचौकीलाई कुलाउ प्रहरीचौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार महाकाली प्रहरीचौकीलाई कुलाउमा सारिएको हो ।

महाकाली प्रहरीचौकीको भाडामा लिएको भवन जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको, बस्तीबाट अपायक ठाउँमा रहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि प्रहरीचौकी सारिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

उनले भने ‘महाकाली प्रहरीचौकी तत्कालका लागि कुलाउमा सारिएको छ । महाकाली प्रहरीचौकीका सबै जवानहरु अहिले कुलाउमै बस्ने गरेका छन् । पछि उपयुक्त भुगोल हेरर चौकी स्थापना गर्छौं ।’

महाकाली क्षेत्रमा कुलाउबाटै प्रहरीको टोली गस्तीमा जाने गरेको छ । महाकाली नदीस्थित डिम्बर घाटबाट अवैध सामान आयत हुनसक्ने भएकाले गस्ती भने नियमित हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए । गएको असोज २५ गते डिम्बरकी किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवलदार कृष्णराज जोशी तानिएपछि स्थानीयहरुले प्रहरीचौकी सार्नुपर्ने माग गरेका थिए ।

जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरीचौकी सानुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । किशोरी बेपत्ता भएपछि हवलदार जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यहाँ कार्यरत अन्य प्रहरी जवानहरुलाई समेत जिल्ला तानेर अन्यत्र खटाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार