कैलालीको गेटा मेडिकल कलेज ५० शय्यामा सीमित

धनगढी : २०५६ सालमा भारतको काञ्चिकामकोटी पीठका जगद्‌गुरु जयन्द्र सरस्वती शङ्कराचार्य नेपाल भ्रमणमा आएका थिए । सोही समयमा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको थियो ।

उनले आयुर्विज्ञान मेडिकल कलेजको शिलान्यास पनि गरेका थिए । उनकै लगानीमा केही संरचना पनि निर्माण भएका थिए गेटामा । सोही वर्ष सरकारले गेटाको ७७ बिघा जग्गा मेडिकल कलेज स्थापनाका लागि जगद्‌गुरुको ट्रस्टका नाममा दिएको थियो । तर, मेडिकल कलेज स्थापनाको कार्य भने अलपत्र पर्‍यो । त्यसको १० वर्षपछि २०६६ सालमा सरकारले नै गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्‍यो ।

सम्भाव्यता अध्ययनका लागि बजेट पनि विनियोजन भयो । अर्को वर्ष राष्ट्रिय योजना आयोगले मेडिकल कलेज बनाउन ११ करोड रुपैयाँ छुट्यायो । गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति पनि गठन भयो । समितिको अध्यक्षमा चेतराज जोशी र कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरी भए ।

२०६९ सालमा मेडिकल कलेज निर्माणका लागि ८४ बिघा जग्गा छुट्याएर नक्साङ्कनको काम भयो । तर, वातावरणीय प्रभाव मूल्यांकन र रूख कटानको विषय भने टुंगो लाग्न सकेन । गेटास्थित शहीद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले मेडिकल कलेज खोल्न आफ्नो वन क्षेत्र दिने सहमति भने जनाएको थियो । २०७१ सालमा गेटा मेडिकल कलेजका लागि प्रस्तावित क्षेत्रमा एउटा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सयौँको संख्यामा स्थानीय बासिन्दा सहभागी भएका थिए भने तत्कालीन जिल्ला वन कार्यालयका प्रमुख पनि उपस्थित थिए । मन्त्रिपरिषद्को निर्णय आवश्यक भए पनि जिल्ला वनले पनि मेडिकल कलेजको प्रस्तावित जग्गामा रहेका रुख कटानीको आदेश नदिन नकारात्मक भूमिका खेलेको स्थानीयको बुझाइ थियो ।

‘कार्यक्रमस्थलबाटै जिल्ला वन अधिकृतललाई पनि सँगै लगेर मेडिकल कलेज स्थापनामा वन तगारो बनेको भन्दै रुख नै काटिदिएका थियौँ,’ सो दिनलाई स्मरण गर्दै दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे भन्छन्, ‘सबै स्थानीयका विरुद्ध मुद्दा लगाउने आँट वन कार्यालयसँग थिएन ।

हामीले त्यो विद्रोह नगरेको भए अहिलेसम्म पनि रुख कटानीकै प्रक्रियामा अल्झिरहेका हुने थियौँ ।’ हुन त २०७१ साल वैशाखमा गेटा मेडिकल कलेजको प्रशासनिक भवन निर्माणका लागि ठेक्का भइसकेको थियो । तर, ठेक्काको १५ महिने अवधि सकिँदासम्म पनि भवन निर्माणको काम सुरु भएको थिएन ।

भवन बन्ने स्थानमा रुख काट्नै बाँकी थियो भने निर्माण व्यवसायीले साइड नपाएको बताउने गरेको थियो । १६ असोज २०७२ मा मेडिकल कलेज पूर्वाधार विकास समितिमा कार्यकारी निर्देशक भएर आए हेमराज पुजारा । उनी आउँदासम्म पनि ठेक्का भएको भवनको निर्माण सुरु भएको थिएन ।

२९ माघ २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रूपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार