काठमाडौं : २८ असोजमा फिल्म निर्देशक निश्चल बस्नेतले हलको विकल्प खोज्ने अभिव्यक्ति दिए । आफू निर्मित र अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’मा दर्शकीय चाप राम्रो हुँदाहुँदै पनि उचित शो नदिएकोतर्फ उनको अभिव्यक्ति लक्षित थियो ।
हलको विकल्प खोज्ने उनको आशय ओभर दी टप प्लाटफर्म (ओटीटी)तर्फ हुनसक्ने अनुमान थियो । नभन्दै उनले केही दिनमा उक्त फिल्म एमएसएम भिडियोमा आउने बताए । शुक्रबारदेखि स्वस्तिमा खड्का स्टारर फिल्म एमएसएम भिडियो नामक ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । हलमा रिलिज भएको २३ दिनमै फिल्म ओटीटीमा आएको छ ।
हलमा रिलिज भएको फिल्म एक महिना नबित्दै ओटीटीमा आउने यो समय निकै छोटो हो । आईओएस र एन्ड्रोइडमा उपलब्ध उक्त ओटीटीको एप डाउनलोड गरेर दर्शकले फिल्म हेर्न सक्ने निश्चलले जनाएका छन् । उनले फेसबुकमा लिंक पनि सेयर गरेका छन् ।
दशैंको घटस्थापनामा रिलिज भएको साजन काफ्ले र आकाश बराल निर्देशित फिल्मले हलमा राम्रै कमाइ गर्यो । ३० वर्ष पुगेकी युवतीले योग्य दुलाहा खोज्न गर्ने संघर्षको कथा यसमा छ । चितवनको मेघौली आसपासमा छायांकन गरिएको यो फिल्मबाट पहिलोपटक स्वस्तिमा निर्मात्रीको रुपमा आएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्