धनगढी । सुदूरपश्चिमको सबैभन्दा जेठो र नेपालको ऐतिहासिक पुस्तकालय मध्यको एक हो, कैलाली जनपुस्तकालय । भाषा, कला र संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने र ज्ञान वृद्धि गर्ने उद्धेश्यले वि.सं २०१४ मा स्थापना गरिएको जनपुस्तकालय अहिले सुनसान र एक्लो बनेको छ ।
धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमै भए पनि जनपुस्तकालय जानेहरु अहिले निकै घटेको पुस्तकालयका ग्रन्थपाल रघुनाथ जोशीले बताएका छन् । अर्कोतर्फ बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारणले पनि पुस्तक पढ्नेहरु हराउँदै गएको जोशीले बताएका छन् ।
त्यसो त कैलाली जनपुस्तकालयमा ९ सय ५० जना आजीवन सदस्य, १ सय भन्दा बढी पाठक सदस्य र ४ जना एसएसकर सदस्य रहेका छन् । १५ जना समिति सदस्य मण्डल रहेको जनपुस्तकालयका अध्यक्ष टिएन जोशी हुन् ।
कैलाली जनपुस्तकालयमा विभिन्न विषयका करिब १ हजार पुस्तक राखिएको छ । कृषिजन्य, धार्मिक, दर्शनशास्त्र, इतिहास, विभिन्न राजनीति विवेचना र इतिहास, नेपाली साहित्य, कूटनीतिक सम्बन्धका साथै स्कुल(कलेज र लोकसेवाका लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित पुस्तकहरु जनपुस्तकालयमा रहेको ग्रन्थपाल जोशीले बताएका छन् ।
त्यस्तै अर्कोतर्फ नेपाली राजनीतिको पञ्चायत स्मारिका समेतका प्रकाशनहरु पनि पुस्तकालयमा संरक्षण गरेर राखिएको जोशीको भनाई छ । जोशीका अनुसार पुस्तकालयमा धार्मिक पुस्तकतर्फ श्री शिव महापुराण, श्रीमद्देवी भागवत महापुराण, ब्रह्मपुराणम्, रामायण, श्री स्वस्थानी व्रतकथा, असली आठकाण्ड रामायण, श्रीराम चरित्रमानस र श्री विष्णु महापुराण लगायतका पुस्तकहरु रहेका छन् । जुन पुस्तकहरु सबैले सहजै रुपमा अध्ययन गर्न सक्ने जोशीले बताएका छन् ।
६ दशक लामो समयदेखि स्थापित उक्त पुस्तकालयमा वर्षेनि नाम दर्ता शुल्क १२५ रुपैयाँ लाग्छ । दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म पुस्तकालय सञ्चालन हनेगर्छ । पुस्तकालयमा बसेर अध्ययन गर्न नभ्याउने पाठकले ५ सय रुपैयाँ धरौटी राखेर पुस्तक घरमै लगेर पनि पढ्ने पाउने व्यवस्था गरिएको ग्रन्थपाल जोशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्