एक दशकदेखि माटाका भाँडा बनाउँदै आएका प्रजापतिको चिन्ता- ‘परम्परागत पेशा लोप हुन लाग्यो’

भक्तराज जोशी

धनगढी । तिहार नजिकिएसँगै धनगढी बस्दै आएका रामकिशोर प्रजापतिलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । जन्मथलो भारत भए पनि कर्मथलो धनगढी बनाउँदै आएका प्रजापतिको दैनिकी अहिले माटाका भाँडा बनाउँदै बित्छ ।

प्रजापति समुदायको परम्परागत पेशा अर्थात माटाका भाँडा बनाउने पेशा गर्दै आएको रामकिशोर प्रजापतिलाई १३ वर्ष भयो । अझै पनि उनी त्यही जोस्का साथ माटाका भाँडा बनाउँदै आएका छन् ।

dashain shuvakamana
Discovery School

तर पछिल्लो समय बजारमा छ्याप्छ्याप्ती भएका प्लाष्टिकका भाँडाका कारण आफ्नो पुर्ख्यौली पेशा नै धरापमा परेको उनको भनाई छ । आफूसहित ६ जनाको परिवार धान्दै आएको माटाको भाँडा बनाउने पेशा संकटमा परेपछि थप चिन्ता थपिएको प्रजापतिले बताएका छन् । ‘परम्परागत पेशा हो, यही पेशाबाट ६ जनाको परिवार पाल्दै आएको छु’, उनले भने, ‘तर माटाका सट्टा प्लास्टिकका भाँडाको प्रयोग बढेपछि पेशा नै संकटमा पर्ने चिन्ता छ ।’

प्रजापतिका अनुसार विगतमा गर्मीयाममा पानी चिसो राखिरहनको लागि पनि माटाकै भाँडा प्रयोगमा आउँथे तर अहिले फ्रिजको बढ्दो प्रयोगले माटाका भाँडा नबिक्ने अवस्थामा पुगेको प्रजापतिले गुनासो गरेका छन् । उनले भने, ‘पहिला पहिला गर्मीयाममा पानी चिसो राख्नका लागि पनि माटाका भाँडा प्रयोग हुन्थे तर अहिले फ्रिजको प्रयोग हुन थाल्यो, माटाका भाँडको माग त ह्वात्तै घटेको छ ।’

प्रजापतिले हाल माटोबाट हाँडी, दियो, पाला, घ्याम्पो र गमलाजस्ता भाँडा बनाउँदै आएका छन् । तर बजारमा माटाका भाँडाको माग न्यून हुँदा थप मर्कामा परेको उनको भनाई छ । यही कारण हाल धेरैले माटाका भाँडा बनाउने पेशा परिवर्तनै गरेको प्रजापतिले बताएका छन् । बचेका केहीले पनि यति नै आम्दानी हुन्छ भन्न सकिने अवस्था नभएको उनले बताएका छन् ।

अहिले प्रजापतिले आफूले बनाएका माटाका भाँडाहरु फुटपाथमा बिक्री गर्छन् । तिहारको समय भएकाले माटाबाट बनाइएका दियो र कलश खोज्नेहरु आउने गरे पनि तिहारपछि व्यापार ह्वात्तै घट्ने प्रजापतिको भनाई छ । ‘अहिले दिपावलीको समय छ, त्यही भएर माटाका दियो र कलशको माग छ । हामीले बनाएका भाँडा फुटपाथमा लगेर बेच्छौँ’, उनले भने, ‘दिपावली सकिएपछि व्यापार घट्छ ।’

त्यस्तै, प्रजापतिसँगै उनकी छोरी मिरा प्रजापति पनि बुवाको काममा सहयोग गर्छिन् । माटाका भाँडा जस्तो पायो त्यस्तै माटोले नबन्ने भएकाले आजभोली माटो खोज्न निकै गाह्रो हुनेगरेको मिराले बताएकी छिन् । भनेको बेलामा खोजेको जस्तो माटो नपाउँदा समस्या हुने मिराको भनाई छ । आफूहरु विगत एक दशकदेखि धनगढीमा माटोका भाँडा बनाउँदै आएकोले माटाका भाँडा बनाउने नगरपालिकाले सहयोग गरे थप सहज हुने अपेक्षा व्यक्त गरेकी छिन् ।

साथै उनले माटका भाँडा स्वास्थ्य पर्यावरण दुवैका लागि लाभदायक रहने भन्दै सबैलाई माटाका भाँडा प्रयोग गर्न पनि आग्रह गरेकी छिन् । सँगै धनगढी बेलौरी सडकमा माटाका भाँडा बनाउँदै आएको प्रजापति परिवारको सहयोगका लागि पनि आफूहरुले तयार गरेका माटाका भाँडा प्रयोग गर्न पनि मिराले आग्रह गरेकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार