कैलाली : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।
दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निर्माणको काम शुरू गरिने उनले बताए ।
‘मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ, अन्य प्रक्रिया शुरू गरेर छिट्टै निर्माणको काम थालनी हुनेछ,’ मन्त्री भण्डारीले भने, ‘छिमेकी मुलुक भारतको आर्थिक र प्राविधिक सहयोगमा चाँडै सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’
उनले भारत सरकारले पनि चाँडो सम्पन्न गर्ने गरि चासो राखेकाले छिट्टै निर्माण सम्पन्न हुने बताए ।
‘सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको छ,’ उनले भने, ‘यी नाका खुल्ने बित्तिकै सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्ने छ ।’
उनले सो नाका सञ्चालनमा आए मुलुकको सबैभन्दा छोटो नाका बन्ने बताए ।
प्रतिक्रिया दिनुहोस्