अत्तरियाका सार्वजनिक स्थानमा जताततै फोहोरै फोहोर, दुर्गन्धित नाला

धनगढी : कैलालीको अत्तरियामा घर, तथा बजारका पसलहरूमा जम्मा भएको फोहोर उठाइने गरिएको भए पनि सार्वजनिक स्थानमा फालिएको फोहोरको भने अझै उचित व्यवस्थापन हुन सकेको छैन ।

नगरपालिकाले सङ्कलित फोहोर ठेकेदार मार्फत सङ्कलन गरेर व्यवस्थापन गर्दै आएको भए पनि सार्वजनिक स्थानमा जताततै फालिएको फोहोरको भने बेवास्ता गर्दै आएको छ । जसका कारण बजार क्षेत्रका सडक, गल्ली जताततै फोहोरै फोहोर देखिने गरेका छन् ।

dashain shuvakamana
Discovery School

स्थानीय एलआर ओझाले जताततै फालिएको फोहोर व्यवस्थापन गर्न नगरपालिका चुकेको बताए । उनले स्थानीयले पनि जताततै फोहोर फाल्ने गरेकाले सडक दुर्गन्धित देखिने गरेको बताए ।

‘स्थानीयहरूले पनि जताततै फोहोर फालिदिने । कुनै निश्चित ठाउँमा फोहोर फाल्ने गरेका छैनन्’ उनले भने ‘यसरी फालिएको फोहोर नउठाइँदा फोहोर देख्नु परेको छ ।’ उनले फोहोरको व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए । उनले सडकका नाला पनि अव्यवस्थित भएको बताए । स्थानीय रबी सिंहले बजार क्षेत्रका बाटोघाटा फोहोर भएको बताए । उनले बाटोघाटा सरसफाइको लागि नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

अत्तरियाको समता गल्लीकी लक्ष्मी थापाले उचित ढल निकास नहुँदा ढलको पानी घर भित्र ट्वाइलेटमा जाने गरेको बताइन् । उनले सडकको नाला नहुँदा निकै दुःख खेप्नु परेको बताइन् । उनले भनिन ‘सडक नालाको पानीको निकास नै नहुँदा हामीले निकै सास्ती खेपेका छौ ।’

सोमबार जताततै फालिएको फोहोरले सडक दुर्गन्धित भएपछि अत्तरियाको समता गल्लीका स्थानीयले सरसफाइ गरेका थिए । अत्तरिया बसपार्क अगाडिको उक्त गल्लीमा जताततै फोहोर फालिएकाले सरसफाइ गरिएको स्थानीय धना चोखालले बताइन् । उनले सडकमा जताततै खाल्डाखुल्डी भएको र, त्यसैमा फोहोर भएका कारण कुरूप देखिएकाले स्थानीय एकजुट भएर सरसफाइ गरेको बताए ।

समता गल्ली अत्तरिया क्षेत्रको मुख्य व्यापारिक गल्ली भए पनि अझै उक्त गल्ली कालोपत्रे नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । गल्लीमा ढलको निकास पनि नहुँदा बर्सातमा घर भित्र पानी पस्ने गरेको छ ।

अत्तरियामा घना बस्ती भएका बस्तीहरूमा पनि अझै ढल निकास र सडक कालोपत्रे हुन सकेका छैनन् । त्यसैमा जताततै फालिएको फोहोर व्यवस्थापन नहुँदा गल्ली झन् कुरूप बनेका छन् । अत्तरिया बजारको गल्ली मात्रै नभएर मुख्य राजमार्ग र चोक वरिपरि नै जताततै फोहोर फाल्ने गरिदा दुर्गन्धित देखिने गरेको छ ।

अत्तरियाको बढी भिडभाड हुने बसपार्कमा पनि जताततै फोहोरै फोहोर छरपस्ट देखिने गरेको छ । बजार क्षेत्रका नाली पनि फोहोरले भरिदा पनि सफाइ गरिएको छैन । नालीमा फोहोर जम्दा दुर्गन्ध पनि आउने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार