काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानले क्षति पुर्याएको क्षेत्रमा एकीकृत बस्ती पुनर्निर्माण गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा खोटाङको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन् । ओलीले सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाको साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापन गर्ने बताएका हुन् ।
‘हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताउनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी गराउनुभयो ।’
प्रतिक्रिया दिनुहोस्