बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

बैतडी : बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो ।

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु हुने र भोलि महाष्टमीका दिन बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । यो बर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि आज महासप्तमी र भोलि महाष्टमी मानिएको बोहराले बताए ।

dashain shuvakamana
Discovery School

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगिसकेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका भण्डारे बोहराले बताए । यो जात्रामा तीन–चार सय राँगाको बलि हुने गर्दछ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ ।

असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ । मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार