छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री : सुमित्रा रेग्मी

काठमाडौं : क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने, छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्मीले ।

काभा वुमन्स नेसन्स लिगमा नेपाली टिमबाट डेब्यु गरेकी उनले रजत पदक जितिन् । त्यसपछि काभा महिला क्लब भलिबल लिगमा नेपाल पुलिस क्लबका तर्फबाट उपाधि जितिन् ।

dashain shuvakamana
Discovery School

सबै कुरा छिटो-छिटो भयो एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभीएल) को च्याम्पियन क्लब कर्णालीको मार्की प्लेअर र कप्तानसमेत रहेकी सुमित्राका लागि ।

२३ वर्षकी सुमित्राले सायदै सोचेकी थिइन् यति चाँडै यति धेरै सफलता हात लाग्छ भनेर । सुमित्राले भलिबल छोएकै जम्मा २ वर्ष भयो, ठूला प्रतियोगिता खेलेको त जम्मा तीन महिना । यति छोटो समयमै यति धेरै उपलब्धी प्राप्त गर्ने खेलाडी विरलै हुन्छ्न् ।

उनी यस्तो समयमा राष्ट्रिय टिममा इन्ट्री भइन् कि नेपाल महिला भलिबल अहिले स्वर्णिम कालमा छ भन्दा फरक नपर्ला । काभा वुमन्स नेसन्स लिगको तयारी लागि रसियन टिमसँग घरेलु भूमिमा दुई मैत्रीपूर्ण खेल खेल्दा पहिलो रोजाईमा खेल्न पाइन् ।

त्यसपछि काभा नेसन्स लिगमा सेटमा खेलिन् । यसअघिका मिडल ब्लकरद्वय साफिया पुन र संगम महतो भन्दा उनी अघि रहिन् । क्वीक स्पाइक हान्ने र ब्लक गर्ने उनको मुख्य काम हो । ५ फिट ११ इन्च अग्ली उनलाई उचाइको पनि राम्रो साथ छ ।

नेपालले यही प्रतियोगितामा पहिलो पटक भारतलाई हराउँदा सुमित्रा पनि त्यो टिमकी सदस्य थिइन् । उनी पहिलो प्रतियोगिता खेल्दा नै नेपालले भारतलाई हरायो । तर फाइनलमा भारतसँगै पराजित हुँदा च्याम्पियन बन्ने अवसर गुमायो ।

त्यसपछि नेपाल पुलिस क्लबले माल्दिभ्समा काभा वुमन्स क्लब लिग खेल्न जाँदा पुलिस बाहिरका तीन खेलाडी अनुबन्ध गरेको थियो । जसमा एपीएफबाट निरुता ठगुन्ना र सरस्वती चौधरीसँगै न्यूडायमण्डकी सुमित्रालाई समेटेको थियो ।

सुमित्राले त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गरिन् । पुलिस अपराजित रहेर च्याम्पियन बन्यो । अनि सुमित्राले बेस्ट मिडल ब्लकरको व्यक्तिगत अवार्ड पाइन् ।

च्याम्पियन कप्तान

अब सुमित्राको अगाडि अर्को विशेषता थपिएको छ । नेपालको पहिलो फ्रेन्चाइल लिग भलिबल इडब्लुभीएलको च्याम्पियन कप्तान । सुमित्रा कप्तान रहेको कर्णाली यस्वीसले अपराजित रहँदै पहिलो संस्करणको इडब्लुभिएलको उपाधि जित्यो ।

डेब्युमै राष्ट्रिय टिमको सेटमा खेल्न थालेपछि अन्य ५ अनुभवी खेलाडीसँगै सुमित्रा पनि फ्रेन्चाइज लिगमा मार्की खेलाडी बनिन् । पूर्व संखुवासभाकी सुमित्रा पश्चिम कर्णालीको टिममा पुगिन् । सुरुमा टिममा खासै चर्चित नाम थिएन । राष्ट्रिय टिमकी सुमित्रा मात्र थिइन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी मनिषा चौधरी थिइन् । मीना सुनारले यू-२० काभा च्याम्पियनसिप खेलेकी थिइन् । अन्य खेलाडी युवा थिए र नाम धेरै चर्चा थिएन ।

यस लिगमा कूल १६ खेल भए । कर्णाली ६ खेल खेल्दा ६ खेलमै जित निकालयो । त्यसमा पनि सुमित्राले एक खेलमा ‘प्लेअर अफ दि म्याच’ अवार्ड जितिन् ।

विदेशी खेलाडी हाबी भइरहेको प्रतियोगितामा सुमित्राको पोजिसनमा खेल्ने विदेशी भने धेरै थिएनन् । भारतीय खेलाडी सूर्या चितवन शक्तिबाट खेलेकी थिइन्, उनी मात्र सुमित्रा भन्दा उत्कृष्ट थिइन् ।

पहिलो पटक भएको लिगमा अपराजित रहँदै च्याम्पियन बन्दा सुमित्रा निकै खुशी छन् र यसले ठूलो महत्व राख्ने बताइन् । ‘यो उपाधिको निकै महत्व छ । नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज लिग भएको र त्यो जितेर ट्रफी जित्न पाउँदा खुशी छु’, सुमित्राले भनिन् ।

आफैँलाई भलिबल सिकाएका कुमार राई नै कर्णाली टिमको प्रशिक्षक हुँदा आफूहरुलाई सजिलो भएको सुमित्राले बताइन् । उनले राईको न्यूडायमण्डमा भलिबल सिकेकी थिइन् ।

‘कुमार सर नै प्रशिक्षक हुँदा सजिलो पनि भयो । विदेशी खेलाडीहरुले पनि राम्रो योगदान गर्नुभयो । हामीले पनि उनीहरुबाट धेरै कुरा सिक्न पायौं’, उनले भनिन् ।

२१ वर्षमा भलिबल खेल्न सुरु, दुई वर्षमै स्टार

संखुवासभाको चैनपुर नगरपालिका-९ त्रिशुलेकी सुमित्राले सानो उमेरमा कहिल्यै भलिबल खेलिनन् । खासमा उनी ढिलो भलिबलमा आइन् तर चाँडै प्रगति गरिन् र छिटो सफलता र उपलब्धीहरु बटुलिन् ।

सुमित्राले २०७५ सालमा गाउँकै शारदा माध्यमिक विद्यालयबाट एसईई दिइन् । तर एक वर्ष गाउँमै बसिन् । अनि पढाइका लागि ठूली दिदीले मीनाले काठमाडौं ल्याइन् ।

तर उनलाई यहाँ पनि पढ्न मन लागेन । काम थालिन् । काम अनुसार दाम नपाएपछि त्यो पनि छाडिन् । अनि फेरि विश्व निकेतनमा कक्षा ११ मा भर्ना भएर पढ्न थालिन् । बिहान कलेज जाने उनी दिनभर फुर्सदमा हुन्थिन् ।

त्यसै क्रममा चिनजानका साथी नवीन थापा मगरले सुमित्रालाई दिनभरि यत्तिकै बस्नुभन्दा बरु न्यू डायमण्डमा गएर भलिबल खेल्न सुझाव दिए । त्यही सुझाव उनको भलिबलको यात्रामा हिँड्ने माध्यम बन्यो ।

सुमित्रा न्यू डायमण्ड पुगिन् । उनको उचाइ देखेर प्रशिक्षक कुमार राई प्रभावित बने । सिनियर खेलाडीहरु ललिता नाथ र प्रतिभा मालीहरुले पनि खल्न सक्छौ भनेर हौसला दिए, सुमित्रा पनि खेल्न तयार भइन् ।

कुमार राईको प्रशिक्षण र अन्य खेलाडीको साथमा सुमित्राले राम्रो गर्दै गइन् । उनले २०७९ सालमा भएको एनभीए प्रतियोगितामा कप्तान ललिता नाथलाई नै रिप्लेस गर्दै डेब्यु गरिन् ।

त्यसयता सुमित्राले एनभीए कप, प्रधानमन्त्री कप, टाइगर कप, लामाचौर भलिबल प्रतियोगिता खेलिसकेकी छन् । अहिले उनी न्यू डायमण्डको मात्र नभएर राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्य बनिसकिन् ।

काभा नेसन्स लिगमा सुमित्राले श्रीलंकाविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टिममा डेब्यू गरिन् । डेब्यू प्रतियोगिताबाटै उनले क्विक स्पाइकमा राम्रो सम्भावना देखाइसकेकी छन् । त्यसअघि रसियन टोलीसँग घरेलु कोर्टमै खेलिएको दुई अभ्यास खेल खेलेकी सुमित्राले त्यसमा राम्रो प्रदर्शन गरेकी थिइन् ।

भलिबल खेल्छु भनेर कल्पना समेत नगरेकी सुमित्राको परिचय न्यूडायमण्ड पुगेपछि बदलियो । उनले दुई वर्षको अन्तरमा यो सबै उपलब्धी हात पारिन् ।

अब प्रशिक्षक कुमार राईले सुमित्रालाई केही वर्षभित्र ड्रिम प्लेअर बनाउने लक्ष्य राखेका छन् । सुमित्राले राष्ट्रिय टिमका लागि लामो समय योगदान दिन सक्छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार