बझाङ : गत साउन ४ मा श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महिला एसिया कप क्रिकेट चलिरहेको थियो। रंगशालादेखि प्रत्यक्ष प्रसारबाट विश्वभरका नेपाली दर्शकले उक्त खेल हेरिरहेका थिए। प्रतिस्पर्धामा थियो, नेपाल र यूएई।
नेपाल १ सय १६ रनको लक्ष्यसहित मैदानमा उत्रियो। पहिलो विकेटका रूपमा नेपालले ३१औं बलमा सीता रानामगरलाई मात्र ७ रनमा गुमायो। रनरेट राम्रो भए पनि विकेट पतन भने निरन्तर भइरहेको थियो। सीतापछि माथिल्लो क्रमका ब्याटर कविता कुँवर (२), कप्तान इन्दु बर्मा (६), पूर्वकप्तान रुविना क्षेत्री (१०) सस्तैमा आउट भए।
नेपालको जितका लागि ओपनर सम्झना खड्का एकमात्र भरोसा बाँकी थिइन् । उनले पाँच जनासँगको ‘पार्टनरसिप’ मा मात्र ४५ बलमा ७२ रनको नटआउट इनिङ्ग मात्र खेलिनन्, नेपाललाई २३ बल अगाडि नै जित दिलाइन् । खड्काले ३५ बलमा अर्धशतक पूरा गर्दै नेपाली महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने पहिलो खेलाडीसमेत भइन्। समग्रमा ११ चौका हानेकी सम्झनाले अन्तिम विजयी चौका हानेपछि नेपाले यूएईलाई ६ विकेटले जित्यो । जितको एकमात्र हकदार ‘प्लेअर अफ द म्याच’ उनै सम्झना भइन्।
२०२३ मेमा टी–ट्वान्टी खेल्न मलेसिया भ्रमणमा जाँदा पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भएकी सम्झनाले एक वर्षभित्रै नयाँ रेकर्ड राखेकी थिइन्। जबकि समग्र नेपालको महिला टिमलाई नै एसिया कपमा ५० रनको स्कोर माथि पुग्न संघर्ष गरिरहनुपरिरहेको बेला सम्झना एक्लैको ७२ रनको इनिङ्ग महत्त्वपूर्ण रह्यो।
यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोगेको नेपालले ६ पटक ५० रनभन्दा कम स्कोरमा खुम्चिनु परेको थियो । खेलाडीका लागि व्यक्तिगत अर्धशतक त परको कुरा। यी सबै विगत बिर्साउँदै सम्झनाले गरेको विस्फोटक ब्याटिङले नेपाली प्रशंसकमाझ वाहवाही बटुल्यो।
फरक स्वभावकी सम्झना खेलकुदमा सानैदेखि विशेष रुचि राख्थिन् । तर उनका केटी साथीहरूको खेलमा खासै रुचि हुँदैनथ्यो। तर सम्झना दाइ उमेरकाहरू सँगै भए पनि खेल्न कुद्थिन्। २०७० सालतिर बझाङमा क्रिकेट खेल भर्खर–भर्खर सुरु भएको थियो । उनी दाइहरू खेलिरहेको ठाउँमा पुग्थिन् ।
दाइहरूले पनि उनलाई अन्तिममा एक÷दुई बल खेल्न दिन्थे। बाँकी समय अरूले खेलेको हेरेरै बिताउँथिन्। सम्झना १० कक्षामा पढ्दै थिइन्। एक दिन घरमाथिको स्कुलमा क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनोट हुने कार्यक्रमबारे थाहा पाएर हेर्न गइन्। छनोटकर्ताहरू बल ‘क्याच’ गर्न लगाउँथे ।
सहभागीहरू ‘क्याच’ गर्न असफल हुन्थे। ‘निकैबेर हेरें कसैले पनि सकेनन्। मलाई उकुसमुकुस भएर योभन्दा त म सक्छु भनेर कराएँ,’ सम्झनाले औपचारिक रूपमा बल समातेको पहिलो दिन सम्झँदै भनिन्, ‘उनीहरूले मलाई पालो दिए। नभन्दै मैले सबै बल ‘क्याच’ गरेर देखाएँ।’ त्यही दिन उनलाई क्षेत्रीय प्रतियोगिता खेल्नका लागि छनोट गरियो ।
प्रतिक्रिया दिनुहोस्