सुदूरपश्चिममा पाँच वर्षमा ३ हजारले राेजे देहत्याग

धनगढी : २२ भदौमा कैलालीको घोडाघाडी नगरपालिका– ६, राजीकुनाकी १७ वर्षीया संगीता थारू बिहानैदेखि घरमै थिइन् । बेलुका ५ बजेतिर सुत्ने कोठामा आफन्तले उनलाई छटपटाइरहेको अवस्थामा भेटे । तत्काल घोडाघोडी अस्पतालमा पुर्‍याइएकोमा साँझ ७ बजे उनलाई डाक्टरले मृत घोषणा गरे । प्रहरीको अनुसन्धान र पोस्टमार्टम रिपोर्टबाट उनको मृत्यु झुण्डिएर भएको पुष्टि भएको छ ।

त्यसको भोलिपल्ट २३ भदौमा बिहान ११ बजे कैलालीकै टीकापुर नगरपालिका–२, विजयनगरकी संगीता माझीले मानसिक रोगको औषधि सेवन गरेको खबर प्रहरीकहाँ पुग्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले औषधि सेवन गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थारू र माझीजस्तै पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कलिलै उमेरमा देहत्याग गर्ने घटना बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ५ सय ५५ जनाले आत्महत्या गरेका थिए । तीमध्ये ६० बालिका र ३९ बालक गरी ९९ जना कम उमेरका छन् ।

dashain shuvakamana
Discovery School

प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच वर्षमा २ हजार ९ सय १२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ४४, २०७७/०७८ मा ६ सय ८०, २०७८/०७९ मा ५ सय ७६, २०७९/०८० मा ५ सय ५७ र २०८०/०८१ मा ५ सय ५५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा आत्महत्याका घटना विकराल बन्दै गएका छन् । पछिल्लो वर्षमा मात्रै ५ सय ५५ मध्ये तराईका दुई जिल्ला कैलालीमा २ सय ३६ र कञ्चनपुरमा १ सय ६१ जनाले देहत्याग गरेका छन् । तराईका दुई जिल्लामा एक वर्षमा ३ सय ९७ जनाले आत्महत्या गरेका छन् भने बाँकी सात पहाडी जिल्लामा १ सय ५८ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार शहरी क्षेत्रमा आत्महत्या बढ्नुका थुप्रै कारण छन् । ‘आत्महत्याको एउटा कारण व्यक्तिगत असन्तुष्टि पनि हो,’ उनले भने, ‘आफ्नो इच्छा पूरा नभएको आवेगमा धेरैले देहत्याग गरेको हाम्रो अनुसन्धानबाट पनि खुल्न आएको छ । आत्महत्याको कारण निराशा र त्यसले उत्पन्न गराउने मानसिक तनाव पनि हो ।’ उनका अनुसार आत्महत्या कसैले पनि योजनाबद्ध रूपमा गरेको देखिन्न । ‘शहरी क्षेत्रमा वैवाहिक जीवन सफल नभएर तथा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरूले आत्महत्याको बाटो रोजेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘अनैतिक सम्बन्धले पनि आत्महत्या बढाएको छ ।’

शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्बन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्ने गरेको छ । प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई पछिल्लो समय दुरुत्साहन मुद्दा लगाउन थालेको छ । यसले आत्महत्याको कारणबारे पनि अनुसन्धान भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसी भने बालबालिकाले समेत आत्महत्या गरेको घटना सार्वजनिक हुनु निकै दर्दनाक भएको बताउँछन् । ‘उमेर पुगेका व्यक्तिले पनि आत्महत्या रोज्नु निकै दुस्खद हो,’ डीआईजी केसी भन्छन्, ‘त्यसमा पनि बालबालिकाले आत्महत्या गर्नु झनै पीडादायी छ । बुबाआमाले सामान्य गाली गर्दा पनि कतिपयले आत्महत्या गरेको अनुसन्धानबाट खुल्छ । यो निकै दुस्खद हो ।’
उनका अनुसार आत्महत्या बढ्नुमा जनजीविका र भावनात्मक कुरा पनि जोडिएका छन् । ‘कतिपयले रिसको आवेगमा पनि आत्महत्या गरेको देखिन्छ,’ उनले भने, ‘बढ्दो वैदेशिक रोजगारी, त्यसबाट उत्पन्न निराशा पनि एउटा कारण हो ।’ प्रेम सम्बन्धमा पाएको धोकाले पनि धेरैले आत्महत्या रोजेको डीआईजी केसीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार