बैतडी : नेपालको हवाई क्षेत्रमा ३० वर्ष सेवा निवृत्त भएका हवाईजहाजका इन्जिनियर ८६ वर्षीय नयनसिंह जन्मेकोे बैतडीको च्वाँगढमा अहिलेसम्म मोटर चल्ने बाटो छैन । सडक नहुँदा यहाँका स्थानीयवासी आफ्नै जिल्ला सदरमुकाम पुग्न पैदल बाटो हिँडेर बझाङको देउरा र डडेलधुराको नवदुर्गा गाउँपालिका फन्को मारेर आवतजावत गर्न बाध्य छन् ।
भूगोलका हिसाबले बैतडीका १० वटा स्थानीय तहमध्ये सबैभन्दा ठुलो भूगोल भएको च्वाँगढ क्षेत्रको सिगास गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सडक नहुँदा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाका स्थानीय डडेलधुरा भएर बैतडी सदरमुकाम धाउँदै आएका छन् भने ६, ७ र ८ नम्बर वडाका स्थानीय चार घण्टा पैदल हिँडेर बझाङको देउरा घुमेर बल्ल जिल्ला सदरमुकाम पुग्ने गरेका छन् ।
आजभन्दा ७० वर्षअघि च्वाँगढको सिगासबाट अध्ययनका लागि पैदल हिँडेर भारतको उत्तराखण्ड राज्य पुग्दाको अनुभव सुनाउनु हुँदै हवाईजहाजका इन्जिनियर नयन सिंहले दुर्गम गाउँमा राज्यको आँखा पुग्न नसकेको गुनासो गरे । उनले भने, “७० वर्षअघिका ती दिन निकै सङ्घर्षपूर्ण थिए । गाउँमा सडक थिएन । आज पनि छैन । अध्ययन गर्न जाँदा भरिया जस्ता भएर हामी खाद्यान्न बोकेर भारतको पिथौरागढ जान्थ्यौँ ।”
गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षाको पढाइ हुने शैक्षिक संस्था खुल्न सकेको छैन । प्राविधिक विषयको अध्ययन गर्न सिगास गाउँपालिकाका विद्यार्थी अहिले पनि सातुसामल बोकेर चार घण्टादेखि एक दिनको पैदल बाटो हिँडेर सदरमुकामस्थित वीरेन्द्र मावि धाउन बाध्यता छन् ।
सिगासबाट हिँडेर बझाङको देउराबाट धनगढी जाने बसमा यात्रा गरेपछि बैतडीको पाटन नगरपालिका–८, खोड्पे पुगिन्छ । त्यहाँबाट अर्को जिप चढेर बल्ल सदरमुकाम पुग्ने गरेको स्थानीय धनश्याम धामीले बताउनुभयो । गाउँका विद्यार्थी कम्प्युटर, कृषि प्राविधिक र सिभिलतर्फको ओभरसियरलगायत प्राविधिक विषयको पढाइ गर्न जिल्ला सदरमुकाम वा नेपालका अन्य सहर धाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्