उदयदेव सहकारीको सहयोगले फेरियो उर्मिलाको जिन्दगी 

कन्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारी खेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन् । छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् ।

‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्, ‘तरकारी खेती गर्न थालेको २०५२ सालदेखि हो ।’

२०५२ सालमा एक कट्ठा जग्गामा तरकारी खेती गरेका उनले तरकारी खेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन् । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उनको भनाइ छ । उनको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमानले किराना पसल सञ्चालन गरेका छन् ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेका छन् । ‘तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ’, उर्मिलाले भनिन्, ‘अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।’

उनले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म ६० लाख खर्च भइसकेको बताइन् । सबै खर्च तरकारी खेतीबाटै धानेको उनको भनाइ छ । उनले लहरे तरकारीबाटै सिजनमा दुई लाख बचत हुने गरेको बताइन् ।

तरका रीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरूको समूह गठन गर्‍यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उनी आबद्ध भइन् । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरूलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनको अनुभव छ ।

उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताइन् । ‘हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियौँ’, उनले भनिन्, ‘सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।’ उक्त समूहमा १६ महिला आबद्ध छन् ।

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार