विशेषज्ञ कुरिरहेको विशिष्ट अस्पताल

धनगढी : सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा सञ्चालित डडेलधुरा अस्पताल छ । सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा प्रदान गर्ने गरी स्थापित यस अस्पतालले विशेषज्ञ डाक्टर कुरिरहेको पाइएको छ ।

चिकित्सक नहुँदा बिरामी कैलालीको धनगढी र भारतका विभिन्न निजी अस्पतालमा महँगोमा उपचार गराउन बाध्य छन् । २०४० सालतिर डडेलधुरामा अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट अस्पताल सुरुवात गर्नुभएको थियो । सो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ सालमा टिम अस्पतालका नाममा २५ शय्यामार्फत यहाँका नागरिकलाई स्वास्थ्य सेवा दिइयो । सो अस्पताल २०५१ सालमा ५० शøयामा स्तरोन्नति भयो । २०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय अस्पताल सय शय्याको बनाइयो ।

Dengue

डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ साल फागुन ३ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले मोरङको कोशी अञ्चल अस्पताल, पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनको भरतपुर अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताल, डडेलधुरालाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

डडेलधुरा अस्पताललाई सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाको केन्द्रमा रहेर सेवा दिने गरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो । विशिष्ट विशेषज्ञ अस्पताल पाँच शय्याको हुनु पर्छ तर यो अस्पतालमा हाल एक सय शय्या सञ्चालन भइरहेको छ । अस्पतालले हाल १४ वटा विभाग कायम गरेर त्यसै अनुरूप सेवा प्रदान गरिरहेको छ ।

विशिष्ट विशेषज्ञ अस्पताल भनिए पनि पुरानै उपक्षेत्रीय अस्पताल हुँदाको दरबन्दी पनि झन्डै आधा खाली छ । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि सङ्घीय सरकारबाट १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । विशेषज्ञ चिकित्सकको मात्रै स्वीकृत स्थायी दरबन्दी १७ जनाको रहेको अस्पतालका सूचना अधिकारी डा. आशिष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रवृत्ति करारमा गाइनोकोलोजिस्ट र एनेस्थेसिया गरी दुई जना विशेषज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् ।

“अस्पतालमा अहिले करार सेवामा पनि दुई जना विशेषज्ञ डाक्टर कार्यरत हुनुहुन्छ । एक जना इएनटी विशेषज्ञ र अर्का एक जनरल सर्जन हुनुहुन्छ,” सूचना अधिकारी डा. अधिकारीले भन्नुभयोे, “मेडिकल अधिकृतको स्वीकृत दरबन्दी १८ जना हो । यसमध्ये स्थायी पदमा सात जना कार्यरत छन् ।”

यसै गरी अस्पतालमा स्टाफ नर्सको स्वीकृत स्थायी दरबन्दी ३० जना रहेकोमा हाल २८ जना कार्यरत छन् । दुई जनाको पद अझै रिक्त रहेको सूचना अधिकारी डा. अधिकारीले बताउनुभयो । उहाँका अनुसार छात्रवृत्ति करारमा पाँच जना र करार सेवामा ११ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले करार सेवामा २० जना स्टाफ नर्स भर्ना गरेको छ ।

अस्पतालमा स्थायी दरबन्दी भएका नौ जना अध्ययन बिदामा रहेको डडेलधुरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सन्तोष गुप्ताले बताउनुभयो । स्थायी दरबन्दीमा कार्यरतमध्ये तीन जना मेडिकल अधिकृत र छ जना स्टाफ नर्स अध्ययन बिदामा रहेका गुप्ताले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार