मोरङको सुन्दरहरैँचास्थित केरा बगानभित्र २ नाबालिका मृत फेला, झापामा भेटिइन् आमा

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा झापामा फेला परेकी छन् ।

मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला परेका थिए । तर, आमाको अवस्था हालसम्म अज्ञात थियो । 

स्थानीय र प्रहरीले निरन्तर खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । उनीहरुका नाबालिका छोरीहरु आइका र अपर्णा सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र मृत फेला परेका थिए ।

पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा अर्जुन बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नीको विवाद भएपछि २ जना नाबालिका छोरीलाई लिएर अस्मिता बेपत्ता भएको जानकारी प्रहरीले पाएको थियो । नाबालिकाहरु भोलिपल्ट मृत फेला परे पनि आमा हालसम्म बेपत्ता थिइन् । 

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् । तर, अस्मिता भने जीवितै रहेको पुष्टि भएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले म्यासेज पठाएको हो कि हैन भनेर यकिन भइसकेको छैन ।  

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट आइनसकेका कारण पुष्टि भइसकेको छैन । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ । 

डीएसपी बस्नेतले अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको बताए । अनुसन्धानपछि वास्तविकता खुल्ने उनले बताए । भने, ‘नाबालिकाहरुको मृत्यु के कारणले भयो र आमा कसरी झापा पुगिन् भन्नेलगायतका कुरा पत्ता लगाउन विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । धेरै दिन खाना नखाएकाले शारीरिक अवस्था कमजोर छ । आँखा पनि रातो छ ।’  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार