चितवन प्रहरीद्धारा साहारा र सनराईज सहकारीको ‘अडिट’ गरिदिन पत्राचार

चितवन : चितवनको नारायणगढमा रहेको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा गितेन्द्रबाबु राई (जिबी) सहित ११ जनाविरुद्ध उजुरी दिएको एक वर्ष नाघिसक्यो।

चितवन अदालतले प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको पनि असोज ९ गते एक वर्ष पुग्दै छ, तर पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएका कोही पनि पक्राउ पर्न सकेका छैनन्। यद्यपि ठगी मुद्दाको हदम्याद सकिनै लाग्दा प्रहरीले अनुसन्धानका लागि पहल थाल्न सुरु गरेको छ।

Dengue

प्रहरीले आर्थिक विश्लेषणसम्बन्धी दक्ष टोली पठाइदिन बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई अनुरोध गरेको छ। अनुसन्धान अधिकारी तथा प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काले यही भदौ १३ गते गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान विभागलाई बोधार्थ बनाएर चितवनका दुईवटा सहकारीको आर्थिक विश्लेषण गरिदिन अनुरोध गरेका छन्।

‘चितवनमा समस्याग्रस्त साहारा चितवन बहुउद्देश्य सहकारी संस्था र सनराइज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकले सहकारीको मापदण्डविपरीत विनाधितो ऋण प्रवाह गर्ने, कृत्रिम कारोबार देखाई ऋण फाइलहरू तयार गरी आफू तथा आफ्ना मानिसले सञ्चालन गरेको कम्पनीमा शून्य प्रतिशत ब्याजदरमा लगानी गरेको देखिएको छ’, सहकारी मन्त्रालयलाई लेखिएको पत्रमा लेखिएको छ, ‘के–कसरी बचतकर्ताको रकम हिनामिना भएको हो। उनीहरूले के–कति रकम कुन कम्पनी तथा प्रालिमा लगानी गरेका छन्, यकिन गरी भदौ मसान्तभित्र प्रतिवेदन बनाउन सक्ने गरी आर्थिक विश्लेषण टोली प्रबन्ध मिलाउन आदेशानुसार अनुरोध छ।’

ठगी मुद्दाको हदम्याद एक वर्षको हुन्छ। एक वर्षको अनुसन्धानपछि अदालतमा मुद्दा पेस गर्नुपर्ने हुन्छ। त्यसका आवश्यकस्वरूप अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए। ‘साहारा सहकारीको मात्र होइन अन्य सरकारीको पनि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘कानुनअनुसार काम अगाडि बढिरहन्छ।’

चितवन प्रहरीले तत्कालीन नारायणकाजी गृहमन्त्री श्रेष्ठका पालामा सहकारीका बचतकर्तालाई उजुरी दिनका लागि आह्वान गरेको थियो, तर रवि लामिछाने गृहमन्त्री भएपछि जिल्लामा साहारा सहकारीको अनुसन्धान रोकिएको थियो। फेरि प्रहरीले फाइल अगाडि बढाएको छ।

चितवन प्रहरीमा अहिलेसम्म ४४ करोड रूपैयाँ हाराहारीमा रकम डुबेको भन्दै बचतकर्ताको निवेदन परेको छ। बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गराइदिन पटकपटक भेट गरी ठूला राजनीतिक अध्यक्ष र सभापति तथा सरोकारवाला निकायसँग अनुरोध गरेका छन्। भदौ १५ गते पनि चितवनबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापा, गृहमन्त्री रमेश लेखकलाई समेत भेट गरी आएका छन्।

अहिलेसम्म यस सहकारीबाट पाँच सय बढी बचतकर्ताले निवेदन दिएका छन्। संस्थाका संस्थापक अध्यक्ष जिबी राई फरार छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रूपैयाँ हिनामिना गरेको आरोप छ। ४५ करोड रूपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रूपैयाँ जिबी राईसमेत संलग्न कम्पनीले लगेको साहारा सहकारी संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले जानकारी दिए।

एक वर्षसम्म पनि आफ्नो रकम फिर्ता नपाउँदा दुःख लागेको उनले बताए। ‘रकम फिर्ता गराउन सक्ने सम्बन्धित निकार्य भेट्न बाँकी कोही छैनन्। प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, चितवन २ का सांसद रवि लामिछाने, सहकारी मन्त्रालय, विभाग, महानगर वडाध्यक्ष सबैलाई भेट गरियो’, उनले भने, ‘हाम्रो समस्या उस्तै छ।’ डेलिकेसन धाउँदा–धाउँदा बचतकर्ताको ठुलो रकम खर्च भइसकेको उनले बताए।

साहारा सहकारीका अध्यक्ष जिबीसहित नारायणगढ शाखाका कार्यसमिति अध्यक्ष सागर केसी, उपाध्यक्ष हेमन्त अधिकारी, सदस्य भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, नारायणगढ शाखाका व्यवस्थापक दिनेश रोक्का, टाँडी शाखाका व्यवस्थापक तीर्थ लामिछाने र पर्सा शाखाका व्यवस्थापक मनोज गुरुङविरुद्ध पक्राउ पुर्जी छ, तर उनीहरू अहिलेसम्म फरार छन्। चितवन सनराइज सहकारीका सञ्चालक र व्यवस्थापक भने पक्राउ परेका छन्। साहाराका आबद्ध मानिसहरू पक्राउ नपर्नुमा शंकाको विषय रहेको दुवाडीले बताए।

चितवनको चार स्थानमा कार्यालय राखेर कारोबार गर्दै आएको सनराइज बचत तथा ऋण सहकारी संस्थाका पनि करिब दुई वर्षदेखि फरार छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा परेको उजुरीअनुसार ६ सय बढी बचतकर्ताको ३३ करोड रूपैयाँ बढी रकम हिनामिना गरेर सञ्चालक फरार छन्। लायन्सचोक, विकासचोक, चनौली र पावर्तीपुरमा यसको शाखा थियो। अझै उजुरी आउने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार रिमाल, उपाध्यक्ष सन्तोषी केसी, सचिव योगेन्द्र पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। अध्यक्ष रिमाल र सचिव पाण्डे गत चैतमा नवलपरासीको कावोसोतीबाट पक्राउ परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार