५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै आएका रामदत्त जोशी

बैतडी : देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । ७५ वर्षीय जोशीको जोस युवावस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मिएका उनी देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्छन् । 

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रम आयोजना गरिएको थियो । ती सबै ठाउँमा देउडा खेल्न पुगे जोशी । बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उनी देउडा खेल्नका लागि ग्वाल्लेकबाट महेन्द्रनगर पुगे । देउडा खेलाउन माहिर जोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्ने गर्छन् । २६ वर्षको उमेरदेखि देउडा खेल्न सुरु गरेका उनी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाउने गर्छन् ।  

Dengue

‘१४–१५ वर्षको उमेरमा गोठालो जाँदा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखि हो,’ जोशीले भने, ‘मैले सुदूरमा देउडा खेल्न थालेको ५५ वर्ष भइसक्यो ।’ देउडा खेल्दा छुट्टै आनन्द प्राप्त हुने जोशीको भनाइ छ । ‘मान्छे बुढो भए पनि मन बुढो हुँदैन,’ गीतकार जोशीले भने, ‘१६ वर्षको उमेरदेखि देउडामा रमाउन थालेँ, आनन्द लाग्छ, सबैसँग भेट हुन्छ ।’  

देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफूलाई यसैमा आनन्द लाग्ने गरेको जोशीले बताए । ‘देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो,’ उनले भने, ‘आफू दुःखमा भए पनि देउडानजिक पुग्यो भने आनन्द मिल्छ ।’ देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत जान्न सकिने उनको भनाइ छ । 

देउडामा श्रीकृष्ण लीला, रामलीला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको जोशीले उल्लेख गरे । ‘गीतमार्फत सवालजवाफ हुँदा पुराना कुराहरू जान्ने अवसर मिल्छ । साथै, मनोरञ्जन हुने, हाम्रो पुर्खा र देवीदेवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।’ देउडामा गीतकारले देवीदेवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा गीतमार्फत सवालजवाफ हुने उनको भनाइ छ । 

सुदूरपश्चिममा रामदत्त जोशी भन्नेबित्तिकै युवादेखि पाका पुस्तासम्म आकर्षित हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । ‘उहाँको संस्कृतिप्रतिको अथाह प्रेम छ,’ देउडिया (गीतकार) रमेश पन्तले भने, ‘उहाँले सुदूरपश्चिमभरि देउडा खेलाइसक्नुभएका जोशी ७५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तै उत्साहित देखिनुहुन्छ ।’ 

गीतकारलाई तत्कालै प्रत्युत्तर दिन सब्ने क्षमता भएका जोशीले विशेष गरी संस्कृति र इतिहाससँग सम्बन्धित विषयवस्तुलाई देउडाका माध्यमबाट उठाउने गरेको पन्तले बताए । 

देउडामा विम्ब र अलङ्कार सिर्जना गर्न सक्ने र तुरुन्तै प्रत्युत्तर दिन सक्ने देउडीकाका रूपमा जोशी सुदूरपश्चिममा चिनिने साहित्यकार कविराज भट्टले बताए । ‘जोशी व्यङ्ग्यमा पनि पोख्त छन् र मनोरञ्जन दिन सक्ने अद्भुत क्षमता उनमा छ,’ उनले भने, ‘उहाँमा पौराणिक कुराको ज्ञान पनि धेरै छ ।’

आफूले सानै उमेरमा बैतडीको देहिमाडौं मेलामा जोशीलाई देउडा खेल्दै गरेको देखेको भट्टले सम्झिए । ‘तीस वर्षअघि जुन जोसका साथ देउडा खेलाउँथे, अहिले पनि उस्तै छ’, उनले भने, ‘उतिबेला पनि रामदत्त जोशीकै देउडा हेर्न भनेर गाउँगाउँबाट मान्छे देहिमाडौं पुग्थे ।’ जोशीसँग सुदूरको संस्कृति र इतिहासको ज्ञान रहेकाले नयाँ पुस्ताले पनि उनबाट धेरै कुरा सिक्नुपर्नेमा उनले जोड दिए । 

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधाले लोकगीतसँग सम्बन्ध राख्छ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलोघेरामा एकआपसमा हात जोडेर गाउँदै पैतालाको तालमा घुम्ने गरिन्छ । पैतालाको चालका आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन् । देउडामा देवगाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।

देउडा खेलमा दुई वा दुईभन्दा बढी देउडियाबीच दोहरी हुने गर्छ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रत्युत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ । 

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरुष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन् । पछिल्लो समय यसको महत्त्व अझ बढेको पाइन्छ ।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार