देशका ७४ वटा जिल्लाहरूमा डेंगीको संक्रमण, ५ हजार संक्रमित

काठमाडौँ : गर्मी र चिसो मौसमको बिचको अवधिमा डेंगीको संक्रमण बढ्ने गरेको छ । प्रायजसो भदौ र असोज महिनामा बढ्ने डेंगी रोगको संक्रमण यो समयमा प्रकोपका रूपमा फैलिएको छ । पछिल्ला वर्षहरू भन्दा यस वर्ष देशभर नै डेंगी फैलिसकेको अवस्था छ ।

७७ जिल्लामध्ये हालसम्म देशका ७४ वटा जिल्लाहरूमा यसको संक्रमण फेला परिसकेको छ । जसबाट झन्डै ५ हजार मान्छे संक्रमित भइसकेका छन् । डेंगीको संक्रमण तीव्र बन्न सक्ने समय भर्खर सुरु भएकाले अन्यत्र पनि प्रकोपको सम्भावना छ । त्यसैले यसप्रति सचेत बन्न आवश्यक छ ।

Dengue

संक्रमित एडिस जातको पोथी लामखुट्टेमार्फत डेंगी भाइरसको संक्रमण फैलिने गर्दछ । यो संक्रमण नेपालको निम्ति नयाँ भने होइन । यसको सङ्क्रमणपछि मानिसमा सामान्यतया: उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने गर्छ । कतिपयलाई रक्तस्राव भएर ज्यान नै जोखिममा पर्ने तथा मृत्यु हुन सक्ने चिकित्सकहरू बताउँछन् । यो संक्रमणमा परिवारका एक सदस्य संक्रमित भएपछि बाँकी पनि संक्रमित हुने सम्भावना बढ्ने गर्दछ ।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै एक मात्र उपाय हो । यस प्रकृतिको लामखुट्टे मान्छे वरपर नै रहन रुचाउने भएकाले व्यक्तिगत रूपमा सचेत र होसियारी बन्न आवश्यक छ । लामखुट्टेको विकास प्रक्रिया अवरुद्ध गर्नका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमलामा पानी जम्न नदिने र घरभित्र वा पानी राख्ने भाँडाकुँडामा लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्न सकिन्छ ।

टोकाइबाट बच्नका लागि घरको झ्याल ढोकामा जाली प्रयोग गर्ने, राति सुत्दा झुल लगाएर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने वा मलहम प्रयोग गर्न सकिन्छ । विज्ञहरूले डेंगी संक्रमण गराउने लामखुट्टे खास गरी बिहान र बेलुका बढी सक्रिय हुने बताउने गरेका छन् । यो पक्षलाई विशेष ध्यान दिएर व्यक्तिगत गतिविधिलाई चलायमान गर्न सकिन्छ ।

स्थानीय स्तरबाट पनि सरकारले लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिन आवश्यक छ । यसका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्न, लार्भा नष्ट गर्नका लागि आवश्यक सामग्री र छर्किने औषधि उपलब्ध गराउन जरुरी छ ।

स्थानीय तहहरूले सरोकारवाला संस्थाहरूको साथ लिएर अभियानलाई कार्यान्वयन गरी अगाडी बढ्नुपर्दछ । डेंगी संक्रमण आदानप्रदान हुने स्थान विद्यालय पनि हो । त्यहाँको वातावरण पनि सुरक्षित बनाउने प्रयत्न गर्नुपर्छ । संक्रमण फैलिने सम्भावनालाई कायमै राखेर व्यक्ति तथा सरकारले पूर्व तयारी गर्न आवश्यक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार