सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो

काठमाडौँ : एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन ।

रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरुलाई इमो एपमा कुरा गरेर भारत बोलाए ।

Dengue

त्यहाँ २० हजार भारतीय रुपैयाँको जागिर दिने प्रलोभन देखाए । केही दिनको कुराकानीमै विश्वास गरेर चार किशोरी अज्ञात व्यक्तिको भनाइको भरमा भारत जान कैलालीको धनगढीस्थित नेपाल–भारत सीमामा पुगे । कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरुलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काटन् र कसरी सीमापार गर्ने तरिका समेत इमोमार्फत ती पुरुषले सिकाएका थिए ।

घरका कुनै पनि सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरुलाई माइती नेपाल कैलालीले सीमामा रोक लगायो । “ती किशोरीहरुसँग न झोला थियो न कुनै सामग्री । घरमा सकैलाई भन्दै नभनी भारत जागिर गर्न जान लागेका रहेछन्, मानव बेचबिखनको शङ्कास्पद अवस्था लागेर तत्काल रोक्यौँ”, माइती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले घटना सुनाउदै भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालले दलालतको मनोबल बढाएको छ, मानव बेचबिखनको उच्चतम् खतरा बढ्दो छ ।”

चौधरीका अनुसार फेसबुक, भाइवर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको जोखना थापिरहेको अनुभव सुनाउनुभयो । यहाँसम्म कि अपराधमा संलग्न व्यक्ति वा समूहसम्म सम्पर्कमा पुग्न चुनौती थपिएको पनि उहाँले बताउनुभयो । विदेशमा बसेर नेपालमा लक्षितगरी काम गर्ने गिरोह छन् ।

माइती नेपाल कैलालीकै अर्को घटनाले पनि यो समस्यालाई अझ प्रस्ट्याउँछ । फेसबुकमार्फत एक जना भारतीय नागरिकको धनगढीकी युवतीसँग सम्पर्क हुन्छ । सुरुमा फेसबुकबाटै प्रेम भाव प्रकट हुन्छ । पछि ती पुरुष नेपालमै आएर युवतीसँग समय बिताउँछन् । विवाह गरेर भारत लैजाने प्रलोभन पार्दै ती पुरुषले युवतीलाई शारीरिक शोषण गर्छन् । पछि मात्रै युवतीले पुरुषको पहिलो बिहे भइसकेको सुइको पाउँछिन् र बिहे नगर्ने जिकिर गर्छिन् ।

युवतीले बिहे इन्कार गरेको दिनदेखि ती पुरुषले जबर्जस्ती दबाब र मानसिक यातना दिन थाल्छन् । युवतीलाई थाहै नदिइ खिचेका गोप्य भिडियो र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिन थाल्छन् । भारतमा बसेर फेसबुकमार्फत पुरुषले पटकपटक युवतीलाई मानसिक यातना दिन थाल्छन् । आफूमाथि हिंसा भएको महशुस गरेकी ती युवतीले प्रहरीमा उजुरी गर्ने प्रयास गरिन् । व्यक्तिको पहिचान नखुलेको र तथ्य प्रमाणित नहुँदा उनले उजुरी हाल्ने आधारसमेत हुँदैन । पर्याप्त प्रमाण नहुँदा उनी अहिले चुपचाप पीडा सहेर बस्न बाध्य छिन् ।

राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरु पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ । आयोगले २०७७ फागुन १३ देखि २१ गतेसम्म मोरङ, इलाम, सुनसरी र झापा जिल्लामा गरेको अनुगमनबाट प्राप्त घटनाको प्रकृतिले पनि सूचना प्रविधिको प्रयोग गर्न नजान्दा बेचबिखनको जोखिम बढेको प्रष्ट पार्छ ।

आयोगको अनुगमनमा उल्लेख छ, “एक जना दाङ जिल्लाकी किशोरीले मोबाइलमा फेसबुक चलाउँदा भारतका नागरिकले फेसबुकमा फोटो देखाएर मोडल बनाएदिने प्रस्ताव राखेपछि ती किशोरी दाङबाट रात्रि बस चढेर सुनसरी जिल्लाको भन्टाबारी सीमानाका हुँदै जान लाग्दा निगरानी केन्द्रबाट सम्झाइबुझाई घर फिर्ता पठाएको थियो ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार