मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता

धनगढी : कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन् । 

नेपाल–भारत सिमानानजिक बसोबास गरेकाका लागि बर्सातमा नदी वारपारको विकल्प डुङ्गाबाहेक अरू केही छैन । सवारीसाधन र बयलगाडा भने मनसुन अवधिसम्मका लागि बन्द नै हुने गरेका छन् । “झोलुङ्गे पुल नबन्दा स्थानीयले धेरै सास्ती खेप्नु परेको छ ।” वडा सदस्य सैतुराम चौधरीले भन्नुभयो, “बर्खायाम लागेपछि नदी वारपारका लागि डुङ्गाबाहेक अरू उपाय नै छैन ।”

मोहनपुरवासी भितरियाघाट र शिवरत्नपुरवासी खोनपुर घाट भएर ओहोरदोहोर गर्छन् । दुवै घाटमा झोलुङ्गे पुल नबनेकाले मनसुन अवधिभरिका लागि प्रत्येक साल डुङ्गा सञ्चालन हुँदै आएको छ । नदीमा ठुलो बाढी आएमा डुङ्गा सञ्चालनमा पनि समस्या हुने गरेको छ । बाढी आउँदा जोखिम थपिने गरेका कारण ओहोरदोहोर नै बन्द हुने गरेको छ । डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यताको बढी मार विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामीलगायतले खेपिरहेका छन् । 

यी दुवै गाउँमा स्वास्थ्य चौकी, आधारभूत तहसम्म पढाइ हुने विद्यालय छैनन् । अध्ययन तथा उपचारका लागि विद्यार्थी स्थानीय मोहना नदी पार गरेर हसुलिया, के गाउँ र भितरिया पुग्ने गर्छन् । 

बर्खायाममा विद्यालयसम्म पुग्नका लागि आफूहरूले ठुलै कष्ट भोग्नुपर्ने बाध्यता रहेको के गाउँस्थित जनकल्याण माविको कक्षा १० मा अध्ययनरत छात्रा महिमा चौधरीको भनाइ छ । नदीमा पुल नबन्दा कतिपय बालबालिकाको भविष्य नै अन्धकार बनेको उनको भनाई छ ।

कक्षा १० मै अध्ययनरत छात्रा आशिका चौधरीका अनुसार कतिपय विद्यार्थी भितरिया, के गाउँ र हसुलियातिर आफन्तकोमा आश्रय लिएर विद्यालय जाने गरेका छन् । 

खोनपुरघाटमा निर्माण थालिएको झोलुङ्गे पुलको एकातर्फको पिल्लर बाढीले बगाएपछि पुल निर्माणको काम अलपत्र परेको छ । यसै गरी भितरियाघाटमा निर्माण थालिएको झोलुङ्गे पुल पनि बनेको छैन । 

ठेकेदारले यसै वर्ष पुल निर्माण सम्पन्न गर्ने वाचा गरे पनि निर्माणमा भएको ढिलाइका कारण स्थानीय जनता डुङ्गा तर्न बाध्य रहेको वडाध्यक्ष सन्तराम चौधरीको भनाइ छ । उनले झोलुङ्गे पुल निर्माणमा निर्माण कम्पनीबाट लापर्बाही भइरहेको उल्लेख गरे। “निर्माण कम्पनीले पुल बनाउने सामग्री झारेको छ तर काम भएको छैन,” वडाध्यक्ष चौधरीले भने, “यो पुल बन्छ या बन्दैन, त्यसको पनि केही निश्चित छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार