‘धनगढीमा अधिकांश सडक दुर्घटना छाडा पशुचौपायाकै कारण हुन्छन्’

भक्तराज जोशी

कैलाली । पछिल्ला दिन धनगढी उपमहानगरपालिकामा छाडा पशुचौपायाको समस्या विकराल बन्दै गएको छ ।

छाडा पशुचौपायाको व्यवस्थापनका लागि लाखौँ बजेट खर्च गरिए पनि समस्या भने ज्युँको त्युँ छ । अझ धनगढीमा हुने अधिकांश सडक दुर्घटनाको कारण छाडा पशुचौपाया हुने गरेको भए पनि यसतर्फ सम्बन्धित निकायको चासो भने खासै गएको छैन ।

Dengue

छाडा पशुचौपायाकै कारण दुर्घटनामा थुप्रैले ज्यान गुमाउँदा पनि समस्या समाधानमा सम्बन्धित निकायको ध्यान नजानु दुःखद भएको धनगढी–३, चटकपुरका स्थानीय ध्रुव केसीले बताएका छन् ।

‘छाडा पशुचौपाया धनगढीको जटिल समस्या हो । छाडा पशुचौपायाकै कारण धनगढीमा कयौँ सडक दुर्घटना भएका छन्’, उनले भने, ‘दुर्घटनामा परेर केहीले परिवारका सदस्य गुमाएका छन् भने केहीले आफ्नो रोजिरोटी गुमाएका छन् । त्यसैले यो समस्याप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।’

त्यस्तै, केसीले छाडा पशुचौपाया व्यवस्थापनका लागि चटकपुरमा गौशाला बनाएको भए पनि उक्त गौशाला प्रयोगविहीन भएको बताएका छन् । लाखौँ खर्च गरेर निर्माण गरिएको संरचनामा गाई नै नहँदा र गौशालामा हुनुपर्ने गाई सडकमा खुल्लमखुल्ला छोडिँदा समस्या निम्तिएको बताएका छन् । ‘चटकपुरमा पनि गौशाला छ’, उनले भने, ‘तर त्यहाँ गाई छैनन्, गौशाला खाली छ, सबै गाई बाटोमा हिँडिरहेका छन् ।’

यसो त केसीले भनेको गौशालामा कुनै समय सयौँको संख्यामा छाडा पशुचौपाया हुन्थे । तर, गौशाला संचालनका लागि खर्च अभाव र व्यवस्थापनका लागि सम्बन्धित निकायले चासो नदिँदै गौशाला दिनप्रतिदिन प्रयोगविहीन बन्दै गएको हो ।

यद्यपि गौशालामा पशुचौपायाका लागि चाहिने आहार र गौशालामा काम गर्ने कर्मचारीको सेवासुविधामा ध्यान दिन सके छाडा पशुचौपायाको समस्या समाधान हुनसक्ने केसीको भनाई छ ।

‘गौशालामा गाईहरु कति छन् ? छन् कि छैनन् ? भनेर समयसमयमा अनुगमन गर्नुपर्छ । गौशालामा छाडा पशुचौपाया राखेर मात्रै हुँदैन, आहार छ वा छैन भन्ने कुराको व्यवस्थापन पनि गर्न सक्नुपर्छ’, केसीले भने, ‘गौशालामा काम गर्ने कर्मचारीको सेवा सुविधामा पनि ध्यान दिनुपर्छ । नभए गौशाला प्रयोगविहीन हुन्छ, समस्या जस्ताको त्यस्तै रहन्छ ।’

हुन त यो आजको समस्या होइन, वर्षौँदेखि धनगढीबासी छाडा पशुचौपायाबाट आजित छन् । एकातर्फ छाडा पशुचौपायाकै कारण खेतीको समयमा राम्रोसँग खेती सप्रिन पाउँदैन भने अर्कोतर्फ दैनिक सडक दुर्घटनाको खतरा बढिरहेको छ । तर, सोच्नु्पर्ने, समस्या समाधान गर्नुपर्ने निकाय भने यो समस्याप्रति बेखबर छन् । अबको समय कानमा तेल हालेर बस्ने होइन, समस्या समाधान गर्ने र जनचासोको विषय सम्बोधन गर्ने हो । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार