नेपाली काँग्रेसबाट देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने

धनगढी : नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्।

नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’

Dengue

नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका देउवालाई दलको नेता नियुक्त गर्ने र सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि पठाउने तयारीमा काँग्रेस छ। नेपाली काँग्रेसबाट विजयी एक प्रदेश सभा सदस्यका अनुसार पूर्व मुख्यमन्त्री शाहलाई दलको नेता र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री देउवालाई मुख्यमन्त्रीमा पठाउने छलफल भएको थियो। तर, दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले दलको नेता र मुख्यमन्त्री एकै व्यक्ति हुनुपर्ने अडान लिएपछि दलको नेतासमेत फेर्ने तयारी गरिएको हो।

काँग्रेस दलको नेतामा प्रकाशबहादुर देउवाको पक्षमा बहुमत सदस्यहरू हुने दाबीसमेत गरिएको छ। केन्द्रको निर्देशन भएकाले शाहले दलको नेता छोड्ने एक प्रदेश सभा सदस्यले बताए। तर, काँग्रेस दलको नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले फोन उठाएनन्। उनी पनि लामो समयदेखि संघीय राजधानी काठमाडौँमा छन्। मुख्यमन्त्रीका लागि शाहालेसमेत राजनीतिक भेटघाट तथा छलफल गर्दै आएका छन्। काँग्रेस संसदीय दलको नेता कमलबहादुर शाहा, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन्।

नेपाली काँग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद काँग्रेसको भागमा परेपछि नेताहरूको दौडधुप सुरु भएको थियो। सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसबाट पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहासहितका चार नेता राष्ट्रिय राजनीतिमा दखल राख्ने नेताहरूसँगको भेटघाट र छलफलमा बेस्त छन्। सुदूरपश्चिममा नेपाली काँग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन्। सुदूरपश्चिममा एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ। काँग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन्। नागरिक उन्मुक्ति पार्टी काँग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार