गोदावरीको ‘भाइरल पुल’मा कपडा बेच्ने जानकी दिदी भन्छिन्- ‘यो पुलले धेरैलाई रोजगारी दिएको छ’ 

भक्तराज जोशी

कैलाली । कैलालीको गोदावरीस्थित ‘भाइरल पुल’मा सांस्कृतिक पोशाकमा सजिएर खिचिएका फोटो र टिकटक देख्नुभएको छ ? ती ड्रेसहरु कहाँबाट ल्याइएका होलान् भनेर सोच्दै पनि हुनुहुन्छ ? वा त्यस्तै विभिन्न जातजातिका भेषमा सजिएर तपाईंलाई पनि फोटा खिच्न वा टिकटक बनाउन मन छ भने गोदावरीको ‘भाइरल पुल’मै यस्ता ड्रेसहरु भाडामा लिन र प्रयोग गर्न पाइन्छ ।

गोदावरी नगरपालिका–२, टेगरी निवासी जानकी ठगुन्नाले पुलमा सांस्कृति पोशाकहरु भाडामा दिने व्यवसाय सञ्चालन गरेकी छिन् । 

Dengue

विगत १ वर्षदेखि पुलमा आउने पर्यटकका लागि निश्चित शुल्कमा विभिन्न जातजातिको पोशाक भाडामा दिँदै आएको ठगुन्नाले बताइन् । ‘विगत एक वर्षदेखि गोदावरी पुलमा कपडा भाडामा दिने र फोटो खिच्ने व्यवसाय सुरु गरेको छु’, उनले भनिन् ‘विभिन्न जातजातिका पोशाक भाडामा पाइने भएपछि धेरैले पोशाक भाडामा लिएर फोटो खिच्ने र भिडियो बनाउने गर्छन् ।’

उनले आफ्नो पसलमा गुरुङ, मगर, थारु, क्षेत्री, नेवारी लगायतका जातजातिका सांस्कृतिक पोशकहरु राखेकी छिन् । गोदावरीको ‘भाइरल पुल’ पुग्ने अधिकांशले ठगुन्नाकै पसलबाट कपडा भाडामा लिन्छन् र फोटो तथा भिडियो खिच्छन् । 

व्यवसाय सुरु गर्दा पोशाक भाडामा दिएरै दैनिक २० हजारसम्मको आम्दानी गरेको ठगुन्ना सुनाउँछिन् । तर अहिले पोशाक भाडामा दिनेहरु बढेपछि सुरुका दिनभन्दा व्यापार घटेको उनले बताइन् । 

‘सुरु सुरुमा त दैनिक २० हजारसम्म पनि आम्दानी भयो । अहिले पोशाक भाडा दिने पसल ४-५ वटा पुगेका छन्’, ठगुन्नाले भनिन्, ‘आजभोली बिदाको दिन परे दैनिक ४ देखि ५ हजार, नत्र १५ सय देखि २ हजारसम्म आम्दानी हुन्छ ।’ पोशाक भाडामा लिनेहरुबाट ठगुन्नाले घण्टाको २ सयका दरले भाडा लिने गर्छिन् । 

गोदावरीको ‘भाइरल पुल’ भाइरल भएपछि घुमफिरका लागि त्यहाँ पुग्नेहरु पनि बढेका छन् । अझ पुलको सौन्दर्यतामा व्यापारी, स्थानीय र फोटोग्राफरहरुले खर्च गरेपछि पुलमा फोटो खिचाउनकै लागि पनि थुप्रै पर्यटक पुग्ने गरेको ठगुन्नाको भनाई छ । तर, स्थानीय र प्रदेश सरकारले पर्यटकीय प्रवर्द्धनमा खास चासो नदिँदा हुनुपर्नेजस्तो गोदावरीको विकास र प्रबर्द्धन नभएको ठगुन्नाले बताएकी छिन् ।

‘गर्ने हो भने यहाँ सम्भावना धेरै छ । घुमफिरका लागि आउने पर्यटकका लागि एउटा व्यवस्थित शौचालय छैन । पुल जीर्ण बन्दै गइरहेको छ’, उनले भनिन्, ‘यदि स्थानीय र प्रदेश सरकारले चासो दिएर यहाँ शौचालय र पुल बलियो बनाउन पिल्लरको व्यवस्थापन गर्ने हो भने यहाँको पर्यटनले राम्रो फड्को मार्न सक्थ्यो ।’ 

त्यस्तै, उनले राष्ट्रिय रुपमा अन्य प्रदेशको तुलनामा पछि परेको सुदूरपश्चिम यस्तै पर्यटकीय सम्भावना र स्थलले गर्दा देशभर चिनिने जमर्को गरिरहेकोले पर्यटकीय क्षेत्रको प्रचार, संरक्षण र प्रवर्द्धनमा सहयोग गर्न पनि सबैमा अपिल गरेकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार