सार्वजनिक स्थानमा फोहोर फाल्दै धनगढीः फोहोर शहरी क्षेत्रको

धनगढी : पक्की सडक किनारमा छ वर्षामा देखिने खोलाको भेग। कुहिने र नकुहिने फोहोरका थुप्राहरु सडकको छेउमा छरपस्ट छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीस्थित जाली सामुदायिक वन नजिक सो खोलाको भेगको कटान रोक्न फालिएको फोहोरले बस्तीनै दुर्गन्धित बन्दै गएको छ।

पछिल्लो एक साता दैनिकजसो धनगढी उपमहानगरपालिकाको ट्याक्टर र टिप्परले शहरीक्षेत्रबाट संकलन गरेको फोहोर सोही क्षेत्र फाल्ने गरेको सो बस्तीमा बसोबास गर्दै आएका स्थानीयको गुनासो रहेको छ।

Dengue

‘यहाँ केही दिन अघि थोरैमात्र कटान भएको थियो। तट्बन्धन गर्न छोडी उपमहानगरपालिकाले यहाँ शहरी क्षेत्रको फोहोर संकलन गरि फाल्ने गरेको छ। जसका कारण बस्तीनै दुर्गन्धित भइरहेको छ’ सो वडाका स्थानीय दिपेन्द्र कुँवरले भने –‘यो वर्षाको भेग सेतो पुलमा रहेको नदीमा जान्छ। यहाँ कुहिने, नकुहिने, धातु जस्ता फोहोर फालिएका छन्। तर, उपमहानगरपालिकाले यो कार्य रोक्नमा ध्यानमा दिएको छैन।’
 
धनगढी उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको क्षेत्र गाउँ क्षेत्र हो। उपमहानगरको सबै भन्दा बढी फोहोर उत्पादन हुने वडामा वडा नम्बर १, २, ३, ४, ५ र १३ छन्। त्यहाँबाट संकलन भएको फोहोरलाई व्यवस्थापन गर्न उपमहानगरपालिकाले वडा नम्बर ६ जालीमा फाल्ने गरेको स्थानीयको गुनासो रहेको छ।

‘केही साता यता दैनिकजसो फोहोर बोकेर ट्याक्टरहरु आउने गरेका छन्। यहाँ नफाल्न आग्रह गर्दा पनि मान्दैनन्,’ उनले भने –‘उपमहानगरमा गुनासो गर्दा समेत सम्बोधन हुन सकेको छैन।’

उपमहानगरपालिका २०८० साल असार, साउनमा सोही वडाको कैलाली बहुमुखी क्याम्पस पछाडि रहेको वस्तीमा फोहोर फाल्दै आएको थियो। सो बस्तीका स्थानीयहरुले सडक निर्माणका लागि बालुवा, गिट्टीको व्यवस्थापन गर्न नसकेकोकोले ढलानका लागि फोहोर त्यहाँ फाल्ने गरेको बताएका थिए।

उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख अशोक अवस्थीले अहिले उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको बताए। 

उनले भने –‘फोहोरमैला व्यवस्थापनको ठेक्का प्रक्रिया अघि बढेको छ। यस अवधिमा उपमहानगरपालिकाले आफै कर्मचारी खटाएर फोहोर संकलन गरिरहेको छ। बस्तीमा फालेको बारे गुनासो आएको थियो। त्यो कार्यमा नगर्नु पर्ने हो। अहिले ध्यानाकर्षण भएको छ।’

आफैं नदी दुर्गन्धित गर्दै उपमहानगर
धनगढी उपमहानगरपालिकाले नदीमा फोहोर फाले कारबाही गर्ने नवनिर्वाचित गोपाल हमाल नेतृत्वको कार्यपालिकाकाको कार्यकालमा शुरुवात गरिएको छ। तर, उपमहानगरनै फोहोर व्यवस्थापनका नाममा खोलामै फोहोर फाल्ने गरेको छ।

२०७९ साल भदौ १ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर १९ मा भनिएको छ –‘अब उप्रान्तदेखि जथाभावी सार्वजनिक क्षेत्र, सडक, नालीहरुमा फोहोर फ्याक्ने खोला नालाहरुमा ढल मिसाउन नदिनका साथै सडकमा निर्माण सामाग्री नराख्न, ठेला पसहलहरु नराख्न र सडकमा पशु चौपायाहरु बाँधी राख्न नदिनका लागि निश्चित अवधिसम्म सबैमा आह्वान गर्ने, उक्त अवधिपश्चात उपमहानगपालिकाको निर्णयलाई अवज्ञा गरी उपमहानगरपालिकाले निषेध गरेको यी कार्यहरु गर्ने गराउनेलाई जरिवानाको कारबाही शुरु गर्ने निर्णय गरियो।’

सो कार्यपालिका बैठकले खोलानालामा ढल मिसाउने वालाको लागिा प्रथम पटक १० हजार र दोस्रो पटक संरचना भत्काउने तथा अन्य फोहोरमैला फ्याक्नेहरुको लागि प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ।

उपमहानगरपालिकाले अहिले फोहोर फालिरहेको खोलाको भेग सेतो पुल हुँदै मोहना नदीमा मिसिन्छ। त्यहाँ वर्षातमा फालिएका फोहोरले मोहना नदीनै दुर्गन्धित हुने भएपनि उपमहानगरपालिकाले यसलाई रोक्नमा ध्यान नदिएको स्थानीय दिपेन्द्र कुँवरले बताए। उनले भने –‘हामीले त दुर्गन्धबाट असर भोगिरहेका छौं। यसका साथै नदीमात्र होइन। यहाँ वन्य जिवजन्तुहरु पनि छन्। यो फोहोरका कारण यहाँका बन्य जिवजन्तुसहित प्राकृतिक जडिबुटीमा यो फोहोरले असर गर्दछ।’

२०८० साल असार, साउनमा कैलाली बहुमुखी क्याम्पस पछाडि फालिएको फोहोर पनि खोलामै जाने गरेको थियो। स्थानीयहरुले सडक बन्ने आशामा बस्ती दुर्गन्धित भएकोमा कुनै गुनासो गरेका थिएनन्। तर, त्यहाँ फ्यालिएको फोहोरले नदी दुर्गन्धित भइरहेकोमा उपमहानगरपालिकाले ध्यान दिएन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार