शिक्षकको उधारो खाता

“सरजी,
नमस्कार !
विषय : उधाराे रकम चुक्ता गरिदिने बारे ।
उपराेक्त विषयमा तपाईंले मेराे किराना पसलबाट विभिन्न मितिमा तीस हजार बराबरकाे चामल, दाल, नुन, तेल, मसला उधाराे खानुभएकाे तर आजकाे मितिसम्म पनि उक्त उधाराे रकम चुक्ता नगर्नुभएकाेले याे पत्र पठाएकाे छु । कृपया, याे पत्र प्राप्त भएकाे मितिले दुई दिनभित्र सम्पूर्ण उधाराे रकम चुक्ता गरी सहयाेग गरिदिन हुन अनुराेध छ । अन्यथा तपाईंकाे नाम उधाराे रकम सहित फेसबुक वालमा पाेष्ट गर्न बाध्य हुनेछु । दु:ख नमान्नु हाेला ।
धन्यवाद !
प्राे.धनपति
नगद किराना पसल
मिति : २०८१/०३/३० गते”
साझँ सात बजे स्टेपलर लगाइएकाे सेताे कागज प्राप्त गरेँ । उधाराे तिर्ने पत्र रहेछ । पत्र खाेलेँ । पढेँ । व्यहाेरा बुझेँ । कुरा त थाेरै उधाराे रकमकाे थियाे । तर पत्र आयाे । मन खिन्न भयाे ।
म पेसाले शिक्षक । बेराेजगार थिइन । शिक्षण शुरु गरेकाे पन्ध्र बर्ष भइसकेकाे थियाे । त्रैमासिक रुपमा तलब भत्ता बुझिरहेकै थिएँ । भाेजभतेरमा कुनै फजुल खर्च थिएन । चन्दा सहयाेग कहिकतै दिइएन । धुम्रपान, मध्यपान, लागू पर्दार्थकाे कुलत थिएन ।
अघिल्लाे बर्षसम्म बचत गर्न नपुगे पनि घरखर्च चलेकै थियाे । उधाराे रासन पानिकाे तिरेकै थिएँ । तर यस बर्ष श्रीमतीले मधेशमा घरवास किन्न साह्रै कर गरी, “तपाईं सँगका सबैले मधेसतिर घरवास जाेडे । घर बनाए । हाम्राे त मधेरतिर घरवास पनि छैन । सबैले मधेसकाे कुरा गर्छन् । आफूलाई लाज लाग्छ । जसरी हुन्छ, यसपाली घरवास किन्नै पर्छ ।” श्रीमतीले दवाव दिई । मैले पनि घरवास किन्दा ठिकै हुन्छ साेचेँ । सहकारी, बैङ्क, इष्टमित्र, दाजुभाइ, साहुँमहाजन, यताउता ऋणदान गरी पन्ध्र लाख रुपैयाँ जुटाएँ । घरवासका लागि मधेशतिर एक कट्टा ऐलानी जग्गा किनेँ । त्यसकारण यस बर्ष घरबासकाे किन्न निकालेकाे ऋण र ब्याज बुझाउन मै तलब ठिक्क भयाे । अपर्झट पर्याे भने काम लाग्छ भनेर साहुँकाे ऋण बाँकी राखेर भएर पनि रुपैयाँकाे नाममा मसँग पुरानाे झाेलाकाे खल्टीमा पाँच हजार नगद थियाे । उधाराे तिर्नुपर्ने तीस हजार । अब के गर्ने ? कसरी उधाराे तिर्ने ? म अलमलमा परेँ ।
साेचेँ, “झाेलाकाे खल्टीमा रहेकाे पाँच हजार लगेर भाेलि पसलेकाे तिरी दिन्छु । बाँकी उधाराे तिर्दै गरुलाँ । पसलेले कसाे नमान्लान् र ? उनकाे पनि असार मसान्त छ ।” मनमनै याेजना बनाएँ । साझँपख खाना खाने मन पनि लागेन । सामान्य हातमुख जारेर विस्तरामा पल्टिएँ । पटक्कै निन्द्रा लागेन ।
मनमा अनेक कुरा खेलाउन थालेँ, म र मजस्तै इमान्दार शिक्षकका बारेमा । “भन्छन्, शिक्षक र मनैबत्ती एउटै हुन् । मैनबत्तीले जस्तै शिक्षकले पनि आफूलाई अन्धकारमा राखी अरुलाई ज्ञानको प्रकाश छर्ने कार्य गर्दछन् । वास्तवमा यो भनाइ शैक्षिक क्षेत्रमा जति प्रचलित छ, शिक्षकको आँखीझ्यालबाट हेर्दा शिक्षककाे अवस्था अझ दयनीय छ । इमान्दार शिक्षक जल्ने मात्र रहेनछन्, खरानी समेत हुदाँ रहेछन् । यसमाथि पनि जति इमान्दार भएर आफ्नो अमूल्य समय खर्चेर अध्यापन गराउँदा समेत सरकारद्वारा उपेक्षा गरिन्छ, सधैँ प्रश्नचिन्ह खडा गरिन्छ किन रहेछ ? विगतदेखि नै विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न समस्यासँग पौठेजोरी खेल्दै र जुध्दै कार्य गर्न बाध्य भएका थिए र छन् । यसरी हेर्ने हाे भने एकातिर शिक्षकहरुलाई यस्ताे महङ्गीकाे जमानामा सामान्य जीवनयापनका निम्ती आवश्यक चामल र तरकारी व्यवस्थापन गर्नका लागि समेत हम्मे–हम्मे परिरहेको अवस्था छ । यसमा पनि विद्यालयमा कार्यरत निजी शिक्षकहरुले ब्यहाेर्नु परेकाे चरम आर्थिक संकट र भोग्नु परिरहेको कठिन परिदृष्यहरु साचिक्कै दर्दनाक छन् । आर्थिक संकटका कारण बिस्तारै शिक्षकहरुमा मानसिक तनाव उत्पन्न हुन थालेकाे छ । शिक्षकहरु शिक्षण पेसाप्रति नकारात्मक सोचको विकास हुन थालेकाे छ ।
अर्काेतिर शिक्षकहरुलाई सामाजिक स्तरबाटै विभिन्न कटाक्ष र तिखो व्यंग्य आउने गरेकाे छ । कुनै पनि काम ठूलो, सानो हुँदैन, मानिसले आत्मसम्मानका साथ परिश्रम गर्नुपर्दछ भनेर ज्ञान बाँड्ने शिक्षकलाई आज सामाजिक दृष्टिकाेणबाट अवमूल्यांकन गर्न थालिएको छ । अझ समाजका स्वघोषित नेता तथा विज्ञहरुले शिक्षकहरुलाई खेलाैना बनाउने प्रयास गरिरहेका छन् । कतिपय खेलाैना बनेका पनि छन् । अदृष्यरुपमा शिक्षकलाई व्यंग्यको पात्रको रुपमा उभ्याउन थालिएको छ । सरकारले यस्ता समस्याको संशोधन त के यसतर्फ ध्यानाकर्षण समेत गर्न सकेकाे छैन । यी यस्ता तमाम समस्या तथा तनावका बाबजुत पनि इमान्दार शिक्षकहरुले आफ्नो विद्यालय र विद्यार्थी तथा अध्ययन र अध्यापन कार्यमा रतिभर कमी गरेका छैनन् ।
तसर्थ, सरकारद्वारा विभिन्न थरिका शिक्षकहरुका समस्या समाधान तर्फ ध्यान दिनु नितान्त आवश्यक छ । सामाजिक स्तरबाट पनि शिक्षकहरुलाई समन्वय र सहयोग दिनु पर्दछ । बौद्धिक र प्राज्ञिक वर्गका रुपमा शिक्षककाे मानक कायम गरिनु पर्दछ ।” यी र यस्तै कुराहरु मनमा खेलिरहदाँ अनिदाे रात कटेकाे पत्तै भएन । जुरुक्क बिस्तराबाट उठेँ । नित्यकर्म र चिया, नास्ता गरेर बजारतिर गएँ । नगद किराना पसलमा पुगेँ ।
“सर नमस्कार हजुर !” साहुजीले नमस्कार गर्याे ।
“नमस्कार… नमस्कार ! के छ खबर ?” नमस्कार फर्काएँ ।
“के हुन्थ्याे सर । यस्तै छ । यसपाली मेराे पसलकाे उधाराे कसैले तिरेनन् । उधाराे नउठ्दा आफू पनि साहुँकाे तिर्नपर्ने उधाराे रकम तिर्न सकिएन । साहूँ पटक पटक पसलमा आउछन् । उधाराे तिर्न ताकेता गर्छन् । आफूसँग सुकाे पैसा छैन । पसलमा सामान सकियाे । साहूँले उधाराे दिन मानेनन् । उल्टै साहूले मेराे तिर्नुपर्ने उधाराेकाे हिसाब देखाउँदै ठाउँ ठाउँमा वेइजज्त गर्दै आए । सरकाे पनि थाेरै तिर्नुपर्ने रकम थियाे ।”
“छ, चिठ्ठी पाइसकेँ ?”
“अँ, सर चिठी पठाएकाे थिएँ । दुःख नमान्नु हाेला । यसपाली साह्रै समस्या छ । उधाराे तिरिदिए हुन्थ्याे । धेरै पनि छैन । तीस हजार मात्र हाे सरकाे बर्षभरिकाे रासन पानीकाे !” उसले नम्र भएर भन्याे ।”
“यसपाली तिर्न सकिएला जस्ताे छैन ।” मैले भनेँ ।
“सर, साह्रै संकटमा छु ।” पसलेले अध्याँराे मुख लगायाे ।
“त्यसाे भए पाँ हजार घटाउँछु, हुन्छ ?”
“हुन त सबै दिए राम्राे मान्थेँ । छैन भने त के गरुँ सर ।”
मैले खल्तीबाट पाँच हजार निकालेर पसलेलाई दिएँ । आफ्नाे खल्टी रिताे भयाे । यसाे खल्टी पल्टाएर हेरे पाँच रुपैयाँकाे नाेट खल्टीकाे कुनामा बचेकाे रहेछ । अब तीन महिनापछि मात्र तलब आउनेछ । तीन महिनासम्मकाे खर्च कसरी चलाउने म निरास भएँ ।
“साहुँजी १ किलाे आम दिनु पर्याे ।”
उसले आम ताैलेर दियाे । बच्चाहरुका लागि १ उधाराे आम किनेँ ।
“खातामा लेखिदिनू ।”सय रुपैयाँ उधाराे थपेँ ।
“साहूजी म गएँ । आखाँकाे पानी छउन्जेल उधाराे तर्दै गरुलाँ हुदैन र ?”
“हुन्छ सर । के गरुँ त ।”
“ल त !”
ल सर । नमस्ते हजुर !”
नमस्ते ।” म फर्कि नहेरी घरकाे बाटाे लागेँ।
नर बहादुर कार्की
मिति : २०८१/०४/०२ गते

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार