लोक सेवाको तयारी धमाधम, निजी जागिर छाड्दै

काठमाडौँ : पछिल्लो समय निजी क्षेत्रको जागिर छाडेर लोक सेवाको तयारीका लागि जुट्ने युवाहरूको संख्या बढ्दै गएको छ । न्यून तलब र राजनीतिक हस्तक्षेपका बाबजुद लोक सेवामा आकर्षण बढ्नुको प्रमुख कारण हो, जागिरको सुरक्षा ।

काठमाडौँ — बुबा निजामती कर्मचारी, आमा प्राथमिक शिक्षक । काभ्रेपलाञ्चोकका सुरज सुवेदीलाई सरकारी जागिरमा प्रवेश गर्नका लागि पारिवारिक दबाब छ । त्यही भएर उनले स्नातक सकिनासाथ लोक सेवाको तयारीमा जुटे । उनले लोक सेवा तयारी गर्न थालेको पनि ४ वर्ष पुगिसकेको छ ।

तर पनि अझै नाम निकाल्न भने सकेका छैनन् । उनी भन्छन्, ‘बुबाआमा नै सरकारी जागिरमा हुनुहुन्छ त्यही भएर लोक सेवाको तयारीमा जुटेको हो, तर ४ वर्षको निरन्तरताले पनि नाम निकाल्न सकेको छैन ।’ यो समयमा निजामती, संस्थान, संघ प्रदेशको सबैतिरको दर्जनौं परीक्षा दिइसकेका छन् उनले । दिनरात मिहिनेत गर्ने उनको किन नाम निस्किएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘तयारी राम्रो गरेको हुन्छ । परीक्षा सकेर निस्कँदा यस पटक त निस्कन्छ भन्ने लाग्छ, तर नतिजामा आफ्नो नाम कहिल्यै देख्न पाइएको छैन ।’ लोक सेवामा सफल हुन आफ्नो मिहिनेत मात्र नभई भाग्य पनि चाहिने हो कि भन्ने महसुस गरिरहेको बताउँछन् उनी ।

निरन्तरताको मिहिनेतले पनि नाम निस्काल्न नसक्दा उनलाई पढ्न छोड्ने सोच पनि आउँछ तर विकल्पमा उनी केही देख्दैनन् । मानविकीमा स्नातकोत्तर गरेका उनले दैनिक १२ घण्टासम्म लोक सेवा पढ्ने गरेको बताउँछन् । लोक सेवामा आफ्नो ऊर्जाशील समय बिताइरहेका उनले सरकारी जागिर प्रवेश गर्ने आफ्नो अठोट एक दिन पूरा हुने विश्वास व्यक्त गर्छन् । उनलाई निजी कम्पनीमा काम गर्न मन लाग्दैन । त्यस्ता कम्पनीमा तलबका साथै सेवासुविधा राम्रो हुँदैन भन्ने लागेको उनले सुनाए । व्यापार गर्ने पारिवारिक पृष्ठभूमि नभएको उनले बताए । ‘लोक सेवाको पढाइ धेरै पटक छोडौं जस्तो लाग्छ तर फेरि के गर्ने भन्ने प्रश्न आउँछ,’ उनले भने, ‘लोक सेवाको विकल्प नै छैन मसँग । विदेश जाने मन छैन, व्यापार गरौं पारिवारिक पृष्ठभूमि छैन । निजी क्षेत्रमा आफूलाई सुरक्षित महसुस नै हुँदैन ।’ लोक सेवामा आफ्नो नाम ननिकालेसम्म यसमै लागिरहने उनले बताए ।

महोत्तरीका महिकरण महराले ३ वर्षअघि व्यवस्थापनमा स्नातक सके । पढाइ अगाडि बढाउन उनलाई पैसाको अभाव थियो । घरबाट माग्ने अवस्था पनि थिएन । पढाइलाई थाती राख्दै उनी लोक सेवाको तयारीमा लागे । तयारीका लागि साथीहरूबाट सहयोग मिल्ने भएपछि उनी कीर्तिपुरमा बसेर लोक सेवा पढ्न थाले । उनले भने, ‘ब्याचलर सक्नासाथ मास्टर्सपढ्नका लागि पैसा थिएन । अब अधिकृतमा प्रतिस्पर्धा गर्न सकिन्छ भनेर पढाइलाई थाती राखेर लोक सेवाको तयारीमा जुटेको हुँ ।’ कीर्तिपुरमा बसेर लोक सेवा पढिरहेका उनले खुला र मधेशी कोटामा प्रतिस्पर्धा गरिरहेका छन् । आर्थिक अभावका कारणले न उनले स्नातकोत्तर पढ्न सकेका छन्, न त लोक सेवाको तयारी कक्षा लिन नै । हाल उनी घरमै अध्ययन गरिरहेका छन् ।

तयारीको तीन वर्षमा उनले राष्ट्रिय वाणिज्य बैंकको चौथो तहमा वैकल्पिकमा नाम पनि निकाले । वैकल्पिकमा नाम निकाल्दा सिफारिस हुन सकेनन् । उनले भने, ‘बैंकमा सीमित कोटा हुन्छ, वैकल्पिकमा नाम निकाल्दा सिफारिस हुन सकिएन । तर यसले अर्को वर्ष सफल भइन्छ भन्ने आँट भरिदिएको छ ।’ खर्च जुटाइदिने उनका साथीहरू सरकारी सेवामा प्रवेश गरिसकेको उनले बताए । साथीहरू सरकारी सेवामा प्रवेश गरेसँगै उनलाई झन् दबाब थपिएको छ । लोक सेवामा सफल हुन उनी रातदिन मिहिनेत गरिरहेका छन् । दैनिक १२ घण्टासम्म पढ्ने उनले बताए । सरकारी जागिर सुरक्षित हुने भएकाले पनि लोक सेवामा सफल हुने अठोट लिएको उनले सुनाए । उनले भने, ‘हामीजस्ता आर्थिक अवस्था कमजोर भएकाहरू अन्य क्षेत्रमा जान सक्दैनन् । दुःख गरेर भए पनि सरकारीमा प्रवेश गर्न सके भविष्यमा राम्रो हुन्छ भनेर मिहिनेत गर्न थालेको हुँ ।’ अध्ययनका लागि उनी कहिले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय पुग्छन् त कहिले चौरमा घुम्छन् । उनले भने, ‘पढ्नका लागि म ठाउँ परिवर्तन गरिरहन्छु, जसले गर्दा सम्झन सहज हुन्छ । यो वर्ष वैकल्पिकमा निस्कियो अर्को वर्ष सरकारी सेवा प्रवेश गर्ने विश्वास लिएको छु ।’

मोरङकी समृद्धि काफ्लेले विज्ञान विषयमा स्नातकोत्तर सकेको चार वर्षपछि लोक सेवाका किताब पल्टाउन थालिन् । दुई वर्षदेखि उनी लोक सेवाको तयारीमा छिन् । विज्ञानमा विभिन्न सिद्धान्तहरू अध्ययन गरेकी उनी यतिबेला ‘आईक्यू’ र ‘जीके’ पढ्दै अधिकृतको तयारीमा जुटेकी छन् । पढाइमा अब्बल उनलाई एसएलसीपछि सबैले विज्ञान पढ्न सुझाव दिए । त्रिचन्द्र कलेजबाट एमएसी सकेकी उनी जागिरका लागि धेरैतिर प्रयास गरिन् ।

केही समय कलेज र ट्युसन पनि पढाइन् तर उनलाई साचेजस्तो सहज भएन । उनले भनिन्, ‘धेरैले विज्ञान राम्रो विषय भनेर अध्ययन गरें, तर मास्टर्स सकेपछि केही स्कोप नै देखिनँ । स्कुल र ट्युसन पढाएर कसरी जीवन धान्ने ?’ त्यसैले लोक सेवाको तयारीमा जुटिरहेको उनले बताइन् । पुरुषका लागि अन्य काम गर्न सहज भए पनि महिलाका हकमा सरकारी जागिर नै सहज हुने उनको बुझाइ छ । आफूले लोक सेवाको महत्त्व धेरै ढिला बुझेकोमा भने पछुतो लाग्ने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘लोक सेवाको तयारी समयमा नै थाल्नुपर्ने रहेछ, समयमै लागेको भए यतिबेला फरक स्थानमा भइन्थ्यो होला ?’

जागिर छोड्दै, लोक सेवा पढ्दै

सरकारी जागिरमा सेवा गरेअनुसार पैसा छैन । राजनीतिक हस्तक्षेप र सरुवाका झन्झटिलो प्रक्रिया पनि उत्तिकै रहेको भाष्य छ । तर कास्कीका रेमन सुवेदीलाई यी कुराको कुनै वास्ता छैन । उनको एउटै उद्देश्य छ निजामती कर्मचारी बन्ने । यही उद्देश्य पूरा गर्नका लागि मासिक ८० हजारको कमाइ छोडेर लोक सेवाको तयारीमा होमिएका छन् उनी । गणितमा स्नातकोत्तर गरेका सुवेदीले कलेज, स्कुलदेखि ट्युसन पढाएर राम्रै आम्दानी गरिरहेका थिए । परिवारका सदस्यहरूले पनि उनलाई शिक्षक बन्न सुझाव दिन्थे । २०७१ सालमा उनले शिक्षक सेवा आयोगमा परीक्षा पनि दिए, तर नाम निस्किएन । शिक्षकको राम्रो आम्दानी छोडेर २०७६ देखि उनले एउटै लक्ष्य बोकेका छन्– निजामती कर्मचारी बन्ने । उनले भने, ‘पढाएर राम्रो आम्दानी गरिरहेको थिएँ, तर शिक्षक पेसामा दुःख धेरै छ, दिनभर पढाउनुपर्ने/उभिनुपर्ने निजामती प्रवेश गर्न सके सहज हुने सोचले सबैथोक छोडेर लोक सेवाको तयारीमा जुटें ।’

शिक्षक प्राइभेट होस् वा सरकारी समयअनुसार बढुवा र थप प्रगति नहुने कारणले पनि आफू निजामतीमा आकर्षित भएको बताए । निजामती सेवामा खरिदार प्रवेश गरे सुब्बा नासु हुँदै अधिकृतदेखि सचिवसम्म हुन सकिन्छ, तर शिक्षक सेवामा त्यस्तो व्यवस्था छैन । त्यसकारण पनि शिक्षक बन्ने सपना छाडेर यहाँ आइपुगेको उनले बताए । कमाइ राम्रै भएकाले परिवारका सदस्यले उनलाई शिक्षण पेसा नत्याग्न सुझाव दिए पनि व्यक्तिगत वृद्धि–विकासका लागि पनि आफूलाई निजामती सेवा उपयुक्त लागेको उनले बताए । सरकारी जागिरमा धेरैले सेवाग्राहीको सेवामा समर्पित हुन आकर्षित हुने बताए पनि सुरक्षा खोज्नु मुख्य कारण रहेको उनको बुझाइ छ । उनले भने ‘व्यवसाय गर्छु भन्दा एक लाख पनि ऋण कतैबाट पाइँदैन, निजी कम्पनीहरूले कर्मचारीलाई दिने सेवासुविधा न्यायोचित छैन । त्यसकारण धेरै युवाहरूको अन्तिम विकल्प भनेको लोक सेवा नै हो ।’

बागलुङका नवराज पौडेल इन्जिनियरिङ कन्सल्टेन्सीको काम छोडेर लोक सेवाको तयारीमा लागिपरेका छन् । उनका बाबु पनि निजामती सेवामा छन् । बुबाको सल्लाह र आफ्नो रुचिअनुसार दुई वर्षदेखि उनी पनि लोक सेवाको तयारीमा जुटेका हुन् । इन्जिनियरिङबाटै प्रतिस्पर्धा गरिरहेका उनले प्रदेशगत परीक्षा दिइरहेको बताए । ‘निजी क्षेत्र व्यवस्थित छैन । राम्रो आम्दानी भए पनि सरकारी जस्तो सुरक्षित नहुने रहेछ,’ उनले भने, ‘केही समयको मिहिनेतले भविष्य सुरक्षित हुन्छ भने किन लोक सेवा नपढ्ने भनेर सुरुवात गरेको हुँ ।’

तयारी सुरु गर्दा गाह्रो लागेको भए पनि नियमित पढाइ र साथीहरूसँगको छलफलले सहजता ल्याएको उनले बताए । ‘लोक सेवा जति पढ्दै गरिन्छ त्यति सहज हुँदै जाँदोरहेछ,’ उनले भने, ‘पढेर सक्छु भन्दा पनि पढेको सम्झन्छु भनेर अध्ययन गर्नुपर्ने रहेछ ।’ दैनिक ८ घण्टा अध्ययन गरिरहेका उनी लोक सेवामा लामो समय बिताउन चाहँदैनन्, दुई वर्ष बित्यो अबको दुई वर्षसम्म तयारी गर्ने सोच राखेका छन् उनले । ऊर्जाशील समय लोक सेवामा बिताए अन्य क्षेत्रहरूमा पनि पछाडि परिनेमा चिन्तित छन् उनी । उनले भने, ‘लोक सेवामा केही वर्ष प्रयास गर्ने हो, सफल भइएन भने अन्य क्षेत्रमा फड्को मार्नुपर्छ । लोक सेवाको ग्यारेन्टी हुँदैन, यदि सफल भइएन भने अन्य क्षेत्रमा पछाडि परिन्छ ।’

सरकारी बैंकमा पनि आकर्षण बढ्दो

धादिङकी महिमा रिजाल बैंकर बन्ने सपना बुन्दै हुर्किइन् । घरमा बैंकका कर्मचारी पुग्दा उनलाई लाग्थ्यो– एक दिन अवश्य बैंकर बन्नेछु । उनी यही सपना पूरा गर्ने तयारीमा जुटेकी छन् । निजी बैंकमा पनि उनको सपना पूरा हुन्थ्यो, तर जागिर सुरक्षित हुने सोचले उनी सरकारी बैंकका लागि तयारी गर्ने सोच बनाएको बताउँछिन् । प्राइभेट बैंकहरूमा धेरै खटिनुपर्ने भएकाले सरकारी भए सहज हुने उनले बताइन् । महिलाहरूका लागि सरकारी जागिर सुरक्षित हुने भएकाले सरकारी नै प्राथमिकता रहेको उनले सुनाइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर सकिएसँगै सरकारी बैंकर बन्ने अठोट लिएकी छन् उनले ।

२०७९ देखि उनले सबथोक छोडेर त्यसैका लागि जुटिरहेकी छन् । यसका लागि उनले ‘भर्चुअल’देखि भौतिक कक्षासम्म लिएकी छन् । कक्षाले लोक सेवाको ‘प्याटर्न’ र लेखनसीप बढाउन सहयोग गर्ने उनी बताउँछिन् । उनले वाणिज्य बैंक, कृषि विकास बैंकमा परीक्षा दिइसकेको अनुभव बटुलेकी छन् । बैंकिङ कोर्स, ऐन नियम, सामान्य ज्ञानदेखि हिसाबका ‘प्याटर्न’हरू अध्ययन गरिरहेको बताउँछिन् उनी । साथीहरूसँगको छलफल, विषयवस्तुहरूको खोजी, समसामयिक रूपमा ‘अपडेट’ हुनुमा नै उनको दैनिकी बित्छ । लोक सेवामा सफल भएकाको अनुभवले पनि उनलाई हौसला प्रदान गरिरहेको हुन्छ,’ उनले भनिन् ‘पढ्दै जाँदा कहिले सक्छु भन्ने लाग्छ, कहिले हतोत्साही पनि हुन्छु, त्यसबेला सफल भएका व्यक्तिहरूको अनुभवले ऊर्जा भरिदिन्छ ।’

बैतडीका महेश शर्मा पनि बैंकिङ तयारीमा नै जुटेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले तयारी गरेको पनि तीन वर्ष पुगिसकेको छ । सहकारी जागिर छोडेर उनी लोक सेवाको तयारीमा नै जुटेका हुन् । व्यवस्थापन अध्ययनले बैंकिङ तयारीमा सहज हुने उनले बताए । अध्ययनको विषयवस्तुसँग मिल्ने भएकाले पनि बैंकिङ क्षेत्र रोजेको उनले सुनाए । राजनीतिक हस्तक्षेप नहुने र निष्पक्ष आम्दानी गर्न सकिने भएकाले पनि बैंकिङ क्षेत्र धेरै सुरक्षित लाग्दछ उनलाई । काठमाडौंमा बसेर बिनाजागिर लोक सेवा तयारी गर्नु उनका लागि सहज छैन । उनले भने, ‘काठमाडौंमा बसेर लोक सेवा तयारी गर्ने धेरै विद्यार्थीहरूको आर्थिक समस्या हुन्छ, लोक सेवाको हुटहुटी भए पनि पैसा जुटाउन धेरै समस्या हुन्छ ।’ सहकारीको कमाइको केही बचत उनले लोक सेवाको तयारीमा लगाएका छन् ।

लोक सेवा कक्षा लिनेदेखि पढाइ खर्च आफैं व्यवस्थापन गरिरहेका छन् । तीन वर्षको अवधिमा बैंकको धेरै परीक्षा दिइसकेको उनले बताए । लामो समय नाम ननिस्कँदा दबाब र तनाव सिर्जना हुने उनले अनुभव छ । साथीभाइको प्रश्न र परिवारको आसले पनि लोक सेवा तयारी गर्नेहरूका लागि धेरै पीडा हुने उनको अनुभव छ । ‘म घरको जेठो छोरा हुँ, परिवारले कहिले कमाउन थाल्छ भन्ने पनि हुने रहेछ, लामो समय नाम ननिस्किनाले बेरोजगारीदेखि परिवारको वास्तै नगरेको संगीन आरोप भोगिरहेको छु ।’

परिवारको आर्थिक भार उठाउन र जागिर सुरक्षित गर्न लोक सेवाबाहेक उनी अन्य विकल्प देख्दैनन् । अन्य क्षेत्रमा जागिरका लागि पहुँच नपुग्ने उनको भनाइ छ, सरकारी सेवा निष्पक्ष छ, दुःख गर्‍यो भने जागिर सुनिश्चित हुन्छ भन्ने उनलाई लागेको छ । उनले भने, ‘निजी कम्पनी र अन्य क्षेत्रमा जागिर गर्नका लागि पहुँच चाहिने रहेछ । पहुँच पुर्‍याउन सक्ने अवस्थामा म छैन, त्यसकारण पनि सरकारी नै जोड गरेको हो ।’ लोक सेवामा केही समय लाग्ला तर सफल हुने विश्वासमा उनी निरन्तर लागिरहेका छन् ।

विज्ञापन हजारमा, आवेदन लाखौंमा

लोक सेवा आयोग होस् वा अन्य कुनै पनि सरकारी निकाय । विज्ञापनमा मागभन्दा सयौं गुणा आवेदन पर्ने गरेको तथ्यांक छ । सरकारी सेवामा माथिल्लो तहको योग्यता भए पनि तल्लो तहमा पनि आवेदन दिनेहरूको संख्या निकै छ । बर्सेनि लाखौंको आवेदन परेको आयोगको तथ्यांकले पनि पुष्टि गर्छ । ०७८/७९ मा ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ को आवेदन परेको थियो ।

जसमध्ये निजामतीतर्फ २ हजार ६ सय ७२ जना उम्मेदवारहरू स्थायी नियुक्तिका लागि सिफारिस भएको आयोगको तथ्यांक छ । ०७९ र ८० मा ३ हजार ३ सय ५७ पदका लागि गरिएको विज्ञापनमा ४ लाख ८३ हजार २ सय ३ दरखास्त प्राप्त भएको थियो । अघिल्ला वर्षको विज्ञापनसहित गरेर निजामती सेवातर्फ ३ हजार ६ सय ७५ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको तथ्यांकले देखाउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार