दाइले कुलबहादुरलाई भनेका थिए ‘त्यो घरमा नसुत’

काठमाडौँ : घरसँगै पहिरोमा पुरिएर सात जना आफन्त गुमाएका भोजबहादुर भन्छन्, “पानी परेपछि त्यो घरमा नसुत त भनेकै थिएँ, तर मानेनन्। यस्तो हुनु रहेछ।”

पानी पर्न थालेसँगै घर चुहिन शुरू भएको थियो। घरभित्र पनि पानी आइरहेको थियो। घर वरपरको जमीन पनि कमजोरै थियो।

Dengue

यो सबै देख्दा पोखरा महानगरपालिका-१९, तल्लाकोट ठाँटीका ६० वर्षीय भोजबहादुर परियारको मनमा चिसो पसेको थियो। “पानी परेको देखेपछि भाइलाई त्यो घरमा नसुत भनेको थिएँ,” भोजबहादुर भन्छन्, “भाइले मानेन, आज यस्तो घटना भयो।”

शुक्रबार दिउँसो भोजबहादुर अघिल्लो दिन भाइसँग भएको कुराकानी सुनाउँदा निराश थिए। आँखा राता थिए। उनीसँगै ठाँटी गाउँ नै शोकमा डुबेको थियो।

बिहीबार अबेर रातिसम्म कुराकानी गरेर सुतेका भोजबहादुरका भाइ ४६ वर्षीय कुलबहादुर परियार शुक्रबार बिहान उठेनन्। उनीसँगै सात जनाको पहिरोमा पुरिएर ज्यान गयो।

राति साढे १० बजे गएको पहिरोका कारण कुलबहादुरको घर पुरिएको थियो। पहिरोमा पुरिएर कुलबहादुरसँगै पत्नी ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्ष्मी परियार, छोरीहरू प्रभा परियार र प्रशना परियार र ज्वाइँ अस्मित परियारको ज्यान गएको छ।

पहिरो गएपछि उद्धारका लागि गएकी ५६ वर्षीया राधिका परियारको पनि मृत्यु भएको छ। उनी कुलबहादुरकी भाउजू हुन्। राधिका र भोजबहादुर दम्पती अर्को घरमा बस्दै आएका थिए।

दाइ भोजबहादुरका अनुसार छोरीज्वाइँ बिहीबार नै स्याङ्जाबाट आएका थिए। उनीहरू पोखरामा बस्ने भनी कोठा खोज्न आएको भोजबहादुर बताउँछन्। छोरीज्वाइँ आएकाले साँझ खाना खाएपछि केही बेर कुराकानी भएको उनी सुनाउँछन्। “छोरीज्वाइँ कोठा खोज्न हिजै पोखरा आएका थिए, यस्तो भयो,” उनी भन्छन्।

पहिरोमा घर पुरिंदा १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन्। पवन कुलबहादुरका छोरा हुन् भने कुमार भोजबहादुरका छोरा हुन्। दुवैलाई स्थानीय बासिन्दाले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि ‘डिस्चार्ज’ गरिएको छ।

भोजबहादुरलाई आफ्नो कुरा भाइले नमानेकोमा होइन, आफूले जिद्दी नगरेकोमा पछुतो छ। “मेरो अन्तर्मनले त भनिसकेको थियो, मैले त्यो घरमा बस्न दिनुहुँदैनथ्यो,” उनी भन्छन्, “हिजो त्यहाँ बस्न नदिएको भए जोगिन्थे।”

स्थानीय भरत आचार्यका अनुसार तल्लोकोट ठाँटीमा अझै केही घर जोखिममा छन्। कुलबहादुरको घर पनि जोखिममै थियो। “उद्धार गर्दागर्दै भागाभागको स्थिति भएको थियो,” कुलबहादुरको घरमा उद्धारमा खटिएका आचार्य भन्छन्, “यो गाउँमा यस्तो भएकै थिएन, अझै सात घर जोखिममा छन्।”

पोखरा-१९ का वडा सदस्य विकास आचार्य जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने बताउँछन्। अहिले मृतकको अन्तिम संस्कारकै प्रक्रियामा जुटिरहेको र त्यसपछि विस्थापित परिवारलाई व्यवस्थापन गरिने आचार्यको भनाइ छ।

दुई दिनदेखि लगातारको वर्षाका कारण आएको पहिरोमा परी पोखरा-३२, चैनपुरमा पनि तीन जनाको ज्यान गएको छ। गए राति आरती ओझाको घरमा खसेको पहिरोमा पुरिएर तीन बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

पहिरोमा पुरिएर १८ वर्षीया अस्मिता ओझा, १२ वर्षीया अनुष्का ओझा र नौ वर्षीय पुष्कर सुवेदीको ज्यान गएको हो। अस्मिता र अनुष्का आरतीका छोरी हुन् भने पुष्कर भतिज हुन्।

त्यस्तै, पहिरोमा घर पुरिंदा मादी गाउँपालिका-११ की ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ। गए राति आएको पहिरोले घर पुरिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मनसुन भित्रिएयता बाढी र पहिरोमा परी गण्डकीमा ३८ जनाको ज्यान गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा १७ महिला, १३ पुरुष र आठ बालबालिका छन्। बाढीपहिरोमा परी दुई जना हराइरहेका छन्।

त्यस्तै, २४ जना घाइते भएका छन्। यससँगै बाढीपहिरोका कारण २११ पशुचौपाया पनि मरेका छन्।

मनसुनी विपद्बाट ३६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति भएको छ। अझै ७६ घर जोखिममा रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार