बेलौरी, बेलडाँडी अझै डुबानमै : नहर फुट्दा जोखिम कायमै, मर्मतमा बेवास्ता

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र भएर बग्ने चौधर नदीले उग्र रुप लिँदा बेलडाँडी र बेलौरी तहसनहस भएको छ । आइतबार रातीदेखि परेको वर्षाका कारण सोमबार बिहान नदीमा आएको भीषण बाढीले बेलडाँडी गाउँपालिका –५ भुर्षाबाट महाकाली सिचाइको शिव नगर मेन लाइन नहर फुटेर बस्ती प्रवेश गरेको थियो ।

जसका कारण वर्षा रोकिएपछि पनि बस्तीहरू जलमग्न छन् । बाढीले बेलडाँडीको इमलिया, झिलमिला, वैवाहा, खैरिघाट र बेलौरीको भुडा शिव नगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेका छन् ।

Dengue

इमलियाका करिब १ सय ५० र गौडीमा २ सय भन्दा बढी घर बाढीले प्रभावित गरेको बेलडाँडी –५ का वडा अध्यक्ष इन्द्र खडकाले बताए । अध्यक्ष खडकाका अनुसार सार्की टोलका करिब २० जना त घर विहीन भइसकेका छन् । बेलडाँडी –५ भुर्षाको गणेश माविमा समेत बाढीले ठुलो क्षति गरेको छ । बेलडाँडी गाउँपालिका भरी बाढीले १५ सय भन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले बताए । अध्यक्ष रानाका अनुसार करिब ६ सय परिवारहरूको घरमा भएको खाद्यान्न बगाएको छ ।

यस्तै बाढीले बेलौरीको बाराझाला, भुडा, कानपुर, कलकत्ता लगायतका क्षेत्र डुबानमा परेका छन् । यी बस्तीमा बुधवार सम्म पनि पानी भरिएकै छ । बेलौरी नगरपालिका – १० मा ४ सय, बेलौरी –८ मा करिब १ सय ५० परिवार प्रभावित बनेका छ ।

घरमा पानी भरिदा विस्थापित भएकाहरू मध्ये धेरै जसोले घर जान पाएका छैनन् । विस्थापित भएका अहिले नजिकैको विद्यालयमा बास बसिरहेका छन् । घरमा पानी कम हुनेहरू घरमा गइसकेको भए पनि घरमा बस्न नसक्ने अवस्था भएका परिवारहरूलाई गाउँपालिकाले बेलडाँडी गाउँपालिका –२ स्थित मोर्ड्न केयर बोर्डिङ स्कुलमा मेस लगाएर खाना खुवाइरहेको छ । बेलडाँडीका बाढी पीडितलाई एनएसडब्लुएले भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न बाडेको छ ।

बाटोमा पानी भरिदा आवतजावत बन्द छ । ३ दिनदेखि बेलौरी नगरपालिका – १० भुडा देखि बेलौरी – ८ कलकत्तासम्म सडकमा पानी भरिदा सडक आवतजावत ठप्प भएको छ । बेलडाँडी र बेलौरीमा नदीको पानी पस्दा करिब १ हजार बिघा भन्दा बढी खेतमा लगाइएको धान बाली नष्ट भएको छ ।

नहर फुट्दा जोखिम कायमै

नदीको सतह घटेका कारण नहर फुटाएको ठाउँबाट बस्तीमा पनि पस्न रोकिएको भए पनि पुनः वर्षांत भए थोरै नदीको सतह बढ्दा पनि बस्तीमा पानी पस्ने जोखिम छ । नदीको धार परिवर्तनको समस्या समाधान नगरे ठुलो जनधनको क्षति हुने बेलौरीका स्थानीय ओमप्रकाश पन्त बताउछ्न ।

‘तत्काल नदीको धार बस्ती तर्फबाट पठाइएन भने बेलडाँडी र बेलौरीका बस्तीमा ठुलो जनधनको क्षति हुने निश्चित छ, तीन वटै सरकारले तत्काल निकासमा ध्यान दिन जरुरी छ’ पन्तले भने । उता महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले भने तत्काल नहर फुटेको ठाउँमा मर्मत गर्न सक्ने अवस्था नरहेको जनाएको छ । महाकाली सिचाई व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले कार्यालय सँग बजेटै नभएको बताए । उनले यसका लागि सिचाइ कार्यालयले मात्रै नसक्ने भएकाले यसमा राज्य नै लाग्नुपर्ने बताए ।

‘नहरको अवस्था हेर्दा तत्काल बन्ला जस्तो छैन, ठुला खाल्डामा पानी जमेको छ’ प्रमुख घोडासैनिले भने ‘५० मिटर नहरको भाग नदीले बगाएको छ भने १२० मिटर नहरमा क्षति पुगेको छ ।’ उनले सानो बजेटले काम गर्न नसकिने र, उक्त ठाउँमा पानी भरिएकोले माटो भरान गर्दा पनि समस्या समाधान नहुने हुँदा यो निर्माणको लागि केन्द्रीय सरकारको सहयोग चाहिने बताए ।

तटबन्ध गर्ने योजना पनि अलपत्र

बेलौरी, बेलडाँडी क्षेत्र डुबानमा परिरहँदा चौधरी नदीमा तटबन्ध गर्ने योजना पनि अलपत्र परेको छ । बेलडाँडी गाउँपालिका –४ गौडी खल्लादेखि बेलडाँडी –५ भारतीय सीमासम्म ३ वर्ष पहिले नै स्टमेट तयार गरिएको थियो । जसका लागि ७ करोड खर्च हुने अनुमान थियो ।

सो क्षेत्रमा २०६४ सालमा पनि चौधर नदीले आफ्नो धार परिवर्तन गरेपछि बेलडाँडी र बेलौरीमा ठुलो जनधनको क्षति भएको थियो । त्यति बेला केन्द्रीय सरकारले चासो दिँदा भत्किएको नहर तत्काल बनेको बेलडाँडीका स्थानीय एवंम चौधर नदी नियन्त्रण संघर्ष समितिका संयोजक जनक धामीले बताए ।

‘चौधर नदीले आफ्नो धार परिवर्तन गरेको समस्या यस पटक मात्रै होइन पहिले देखि नै दोहरिँदै आएको छ’ धामीले भने ‘२०६४मा नहर क्षति भएको थियो, त्यति बेला केन्द्रीय सरकारले नै सहयोग गरी माटोको डिल बनाएर मर्मत भएको थियो ।’ गाउँ बस्ती होचो र नदी बग्ने भाग उँचो हुँदै गएकोले अहिले ठुलो समस्या आएको धामी बत्ताउँछन् ।

स्थानीयहरूले ठुलो क्षति रोक्न बेलडाँडी गाउँपालिका –४ गौडी खल्लादेखी बेलडाँडी –५ भारतीय सीमा सम्म ४.५ किलोमिटर तटबन्ध निर्माणका लागि २०७४ सालमा नै जनक धामीको नेतृत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरे थिए । संघर्ष समितिले २०७९ मा ७ करोड ११ लाख बराबरको स्टमेट तयार गरी तटबन्ध निर्माणको लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको थियो । तर योजना कार्यान्वयनमा कसैले चासो नदीका अझै समस्या ज्यूँ का त्यू छ ।

‘तटबन्ध बनेपछि बेलडाँडी र बेलौरीका स्थानीयलाई धेरै राहत हुन्थ्यो । तर सरोकारवाला निकायले ध्यान नदिँदा अहिलेसम्म तटबन्धको काम अघि बढेको छैन’ धामीले भने ‘ठाउँमा हुने मान्छेलाई चिन्ता चासो छैन, चिन्ता चासो हुनेको पहुँच नहुँदा बेलडाँडी र बेलौरीका स्थानीयले दुःख पाइरहेका छन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार