बाढीले १० हजार कुखुरा डुबायो, अजय भन्छन्- फारम डुब्यो, सपना डुबेको छैन !

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका -५ मा रहेको तीनतारा कुखुरा फारमका सञ्चालक हुन् अजय चन्द । तर, अहिले उनको फारमको अवस्था बेहाल छ ।

एक साता अघिबाट परेको अविरल वर्षासँगै २३ असार राति आएको बाढीले उनको फारममा रहेका १० हजार कुखुरा डुबायो । बाढीले कुखुराको दाना र औषधि पनि डुबाएको छ । ५० लाखभन्दा बढीको क्षति भएको उनी बताउँछन् ।

उमेरले ३० वर्षीय चन्दले १० वर्षदेखि कुखुरापालन गर्दै आएका छन् । स्नातकसम्म पढाई गरेर नेपालमै व्यवसाय गर्छु भन्ने सोचले चन्दले कुखुरापालन सुरु गरे । सानैदेखि आमा र हजुर आमाले हुर्काएका उनलाई विदेश जाने सपना कहिल्यै आएन । गर्भमै रहँदा बुबा गुमाएका चन्द युवाअवस्थामै पारिवारिक जिम्मेवारी बोके । त्यहीकारण पढाइसँगै व्यवसायलाई पनि अघि बढाए ।

आफ्नै देशमा केही गर्छु भनेर लागेका चन्दको कुखुराको फारममा बाढीले ठूलो क्षति पुर्‍याएपछि उनी निकै पीडित बनेका छन् । ५ लाखबाट व्यवसायलाई सुरु गरेका चन्द अहिले डेढ करोडको पुगेको बताउँछन् । तर, बाढीका कारण उनले ठूलो क्षति व्यहोर्नु परेको छ ।

आइतबार राति आएको बाढीले उनका सबै कुखुरा नष्ट गरिदियो । आफ्नो लगानी र बैंकको ५५ लाख ऋण लिएर उनले व्यवसाय बढाएका थिए । करिब २र३ केजी पुगेका कुखुरा कति डुबेर मरे त कति बाढीले बगायो ।

”नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेँ । तर, बाढीले सबै डुबायो,” चन्द भन्छन्, ”फारम डुबाए पनि सपना अझै जीवितै छ ।”

केही समय लागे पनि फेरि यहीँ काम गरेर अघि बढ्ने उनको सोच छ । आफ्नो जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेको उनको भनाइ छ । फारम सञ्चालन गरेको १० वर्षमा यति ठूलो वर्षा नदेखेको उनले बताए । अहिलेसम्म पानी नपसेको फारम नै डुबेपछि भने उनी चिन्तित छन् ।

”रातिको समय थियो ९ बजिसकेको थियो हामी घरबाट बाहिर आएर हेर्दै थियौँ तर बिस्तारै ११ बजेपछि खोर पनि डुबायो जान सक्ने अवस्था भएन त्यति बेला आफू बच्ने कि कुखुरा बचाउने भन्ने चिन्ता भयो रातिको समयमा कतिपय कुखुरा आफ्नै आँखाको अगाडि बगेर गए,” उनी भन्छन् ।

चन्दले करिब एक बिघामा ४ ओटा फारम बनाएर १० हजार चल्ला हालेका थिए । ४ हजार चल्ला बिक्री गर्ने अवस्थामा थिए भने ६ हजार अलि सानै थिए । उनले ३ जनालाई रोजगारी पनि दिएका थिए । उनको घर र फारम नजिकै छ ।

यस्तो विपदमा परेको बेला सरकार पनि छ भन्ने भान सरकारले गरिदेओस् भन्ने उनी चाहन्छन् । नेपालमै लगानी डुब्दा सरकारले थोरै भए पनि सहयोग गरेर युवालाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।

अहिलेसम्म नेपालमा व्यवसाय गरेर कहिँबाट सहयोग मिल्दैन भन्ने छ । तर, अहिले सरकारले सहयोग नगरे नेपालमा बस्ने वातावरण नरहने उनी बताउँछन् ।

अहिले चन्दले होलसेलमा प्रतिक्रिलो ३ सयमा कुखुरा बिक्री गर्दै आएका थिए । उनको फारममा रहेका कुखुराको दाना, औषधिसमेत बाढीले बगाएको छ । भूजेला खोलाको बाढीले गर्दा उनका सबै कुखुरा नष्ट भए ।

वडाध्यक्ष पदम अवस्थीलगायतले निरीक्षण गरेर गएको उनले बताए । स्थानीय तहबाट पनि केही सहयोग हुनुपनर्ने उनको भनाइ छ ।

डुबेको लगानी फर्काउन कसैले नसके पनि थोरै राहत उपलब्ध गराउनुपर्ने उनको माग छ । आफूले प्रहरी प्रशासनलाई खबर गरे पनि धेरै वर्षाका कारण उद्धार हुन नसकेको चन्द बताउँछन् । केही समय लागे पनि फेरि व्यवसायमै फर्कने चन्द बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार